काठमाडौं । पोखरामा नेपाली कफीको प्रर्दशनी तथा राष्ट्रिय कफी कपिंग च्याम्पियनसिप कार्यक्रम हुने भएको छ । नेपाल सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना र नेपाल कफी व्यवसायी महासंघ तथा केन्द्रीय कफी सहकारी संघको सहकार्यमा कार्यक्रम हुन लागेको हो ।
“चिनौ, चाखौँ, अपनाऔँ, प्रवद्र्धन गरौँ“ भन्ने मूल नारासहित नेपाली कफीको राष्ट्रिय प्रर्दशनी एवम राष्ट्रिय कफी कपिंग च्याम्पियनसिप कार्यक्रम आउँदो असार २० गते हुँदैछ ।
नेपालमा कफी खेतीप्रति आकर्षण एवम् कफी संस्कृति बढ्दै गइरहेको सन्दर्भमा नेपाली कफी सम्बन्धी सम्पूर्ण मूल्य शृंखला एवम कफी क्षेत्रको व्यवसायको विषयमा एउटै कार्यक्रमवाट जानकारी दिने उद्देश्य सहित आयोजना हुने सो कार्यक्रममा नेपालका सबै प्रदेशवाट कफी उत्पादक, व्यवसायी, सरोकारवालाहरु एवम उपभोक्ताहरुको सहभागिता रहने वोर्ड क्षेत्रीय कार्यालय, पोखरा नि. क्षेत्रीय निर्देशक चन्द्र पुरीले जानकारी दिए ।
असार २० गते शनिबार बिहान १० बजेदेखि पोखरा–५, डुम्रिवोटस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय, कार्यालयको प्राङ्गणमा हुने कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथि तथा गण्डकी प्रदेश, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको विशिष्ट आतिथ्यतामा सहभागी हुनेछ ।
कार्यक्रममा राष्ट्रिय कफी च्याम्पियनसिपका विजेतालाई अवार्ड सहित सम्मान, कफी नर्सरी तथा बगैंचा अवलोकन, नेपालका उत्कृष्ट कफीहरूको निःशुल्क सार्वजनिक कपिङ, स्पेसियालिटी कफी ब्रुइङ प्रदर्शन, कफी बार उपकरण प्रदर्शनी, निःशुल्क कफी स्वाद परीक्षण, कफी प्रशोधन पहिचान प्रतियोगिता, बीउदेखि कपसम्मको सम्पूर्ण कफी मूल्य शृङ्खलाको प्रदर्शनी एवम जानकरी, कफी सम्बन्धि मनोरन्जनात्मक खेल संचालन साथै कफीको गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया तथा विज्ञबाट प्राविधिक परामर्शलगायत विविध आकर्षक कार्यक्रम समावेश गरिएका छन्।
कफी उत्पादक, किसान, प्रशोधनकर्ता, व्यापारी, सहकारी, क्याफे सञ्चालक, उपभोक्ता, सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र र कफीप्रेमी सबैलाई कार्यक्रममा सहभागी भई नेपाली कफीको उत्पादन, गुणस्तर र बजार प्रवद्र्धन अभियानलाई थप सशक्त बनाउन आयोजकले आग्रह गरेको छ।
कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ। नेपाली कफीको सम्भावना, स्वाद र गुणस्तरलाई विश्वसामु चिनाउने यस अभियानमा सबैको सहभागिताले कफी क्षेत्रको दिगो विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले लिएको छ।