सिन्धुपाल्चोक । प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नृेमा सिन्धुपाल्चोककी एक महिलासहित रहेका छन् ।
प्रहरीकाअनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–९ बस्ने सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ घर भएका ३१ वर्षीय शक्ति राई, काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–११ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया विमला दोङ र काठमाडौँ गोकर्णेश्वर नगरपालिका–५ बस्ने ३१ वर्षीय रोशन तामाङ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ परेकामध्ये शक्तिले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै एक लाख ९५ हजार, विमलाले अजरबैजान पठाइदिने भन्दै १३ लाख ६० हजार तथा रोशनले क्यानडा पठाइदिने भन्दै २४ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो।
उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताए।