आज ४ बजेबाट रातभर तीव्र गतिको हुरी चल्ने, सिन्धुपाल्चोकमा हिमपातको सम्भावना

आज ४ बजेबाट रातभर तीव्र गतिको हुरी चल्ने, सिन्धुपाल्चोकमा हिमपातको सम्भावना

फरक पत्रिका

बुधबार, बैशाख १६ २०८३

आज ४ बजेबाट रातभर तीव्र गतिको हुरी चल्ने, सिन्धुपाल्चोकमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरीसहित चट्याङ अनि वर्षसहित हिमपात हुने जनाएको छ । तीव्र गतिको हावाहुरी र हिमपात हुने जिल्ला नै तोकेर चेतावनी दिएको हो ।
हावा हुरी सुरु हुने समय र प्रभावित हुने जिल्लाहरुको विवरण अध्यावधिक गरेको छ । सिन्धुपाल्चोकसहित केही हिमाली जिल्लामा वर्षासहित हिमपात हुने विभागले जनाएको छ ।

विभागले आज बिहान ८ बजे जारी गरेको विशेष बुलेटिनमा उल्लेख भए अनुसार अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने छ ।

हावाहुरीबाट सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटीसहित आसपासका जिल्ला प्रभावित हुने सम्भावना छ ।

यसैगरी लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासीसहित आसपासका जिल्लामा पनि हावाहुरीको प्रभाव पर्ने छ ।

गण्डकी प्रदेशको नवलपुर र बागमती प्रदेशको चितवन आसपासका जिल्ला पनि हावाहुरीबाट प्रभावित हुनसक्ने सूचनामा उल्लेख छ ।

यस्तै मधेश प्रदेशका बारा, पर्सा र धनुषासहित आसपासका जिल्लामा पनि हावाहुरीबाट प्रभावित हुनसक्ने विभागले जनाएको छ ।

कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा पनि तीव्र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागले हावाहुरी सुरु हुने समय पनि संशोधन गरेको छ । विभागको अध्यावधिक सूचनामा आज अपराह्न ४ बजे तीव्र गतिको हावाहुरी सुरु हुने र भोलि बिहान ६:४५ बजे समाप्त हुने उल्लेख छ ।

विभागका अनुसार हावाहुरीसँगै मेघगर्जन, चट्याङ सहित असिना पानी पर्ने प्रणाली पनि पश्चिमबाट पूर्वतिर सर्दै जाने सम्भावना छ ।

देशका धेरै ठाउँहरुमा यसको प्रभाव पर्ने सम्भावना भएकाले सतर्कना अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित