काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थानीय तहको संख्या र सीमा हेरफेर गर्नुपर्ने प्रस्तावहरू पेश भएका छन् । झण्डै एक सयको हाराहारीमा हेरफेर गर्नुपर्ने प्रस्तावहरु पेश भएका हुन् ।प्रस्तावमा गाउँपालिकालाई नगरपालिका बनाउनुपर्ने, वडाको सीमा हेरफेरलगायत छन् । प्रस्तावहरू विभिन्न समयमा स्थानीय तहबाट प्रदेश सरकार हुँदै मन्त्रालयमा पुगेका हुन् ।
मन्त्रालयमा पेश भएका विभिन्न ९७ वटा प्रस्तावहरूको अध्ययन गरेको नेपाल नगरपालिका संघले त्यसको सामूहिक विश्लेषण र सुझाव सहितको प्रतिवेदन फागुन, २०८२ मा पेश गरेको नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक एवं प्रतिवेदन तयार पार्ने टोलीका संयोजक कलानिधि देवकोटाले बताएका छन् ।
अध्ययन समितिले काभ्रेका तीन नगरपालिका जोडेर उपमहानगरपालिका बनाउन उपयुक्त हुने राय दिएको छ । बनेपा, धुलिखेल र पनौतीलाई उपमहानगरपालिका बनाउनुपर्ने र त्यसलाई सांस्कृतिक रुपमा विकसित गर्नुपर्ने प्रस्ताव छ ।
स्थानीय तह पुनर्संरचना आयोगको सिफारिस अनुसार २२ फागुन, २०७३ मा देशभर कुल ७ सय ५३ को संख्यामा स्थानीय तह निर्धारण भएको थियो । ती स्थानीय तह अन्तर्गत देशभर ६ हजार ७४३ वडाहरू छन् ।
नगरपालिका संघले थप ३१ वटा गाँउपालिकाहरू नगरपालिका बन्न उपयुक्त गरेको निष्कर्ष निकालेको छ । कानून अनुसार, १० हजार जनसंख्या रहेका हिमाली भेगका स्थानीय तहलाई नगरपालिका बनाउन मिल्छ ।
सिन्धुपाल्चोकका भोटेकोशी, जुगल, पाँचपोखरी र हेलम्बुलाई नगरपालिका बनाउन मिल्ने प्रस्ताव पेश भएको स्रोत बताउँछ ।
सिन्धुपाल्चोक बलेफीमा वडा नम्बर ४ को दुई भूभाग रहेकोमा अपायक र बाध्यात्मक वडाको केन्द्र हटाएर अर्को वडा थप गर्न माग छ । उनीहरूले ८ को साटो ९ वटा वडा कार्यालय बनाउन माग गरेका हुन् ।