काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार फेरि नेपाली क्रिकेट टिम युएईसँग भिड्दैछ । सोमबार भएको खेलमा ६ विकेटले पराजित नेपाल सिरिजको दोस्रो खेलमा जित्नै पर्ने अवस्थामा छ । साँझ ५ बजे सुरु हुने खेलमा नेपाल ‘गर या मर’ को अवस्थामा उत्रिँदैछ। नेपाललाई आज सिरिज बरबरी गर्ने मौका भएकाले पनि जित्नैपर्ने दबाब बढेको हो ।
सोमबार वर्षाले छोट्याएको खेलमा ७८ रनको सामान्य लक्ष्य पनि जोगाउन नसक्दा नेपाल ६ विकेटले पराजित भएको थियो। आजको खेल नेपालका लागि बराबरीका लागि मात्र होइन, आत्मविश्वास फर्काउने अवसर पनि हो।
टोलीको मुख्य ध्यान भने अब हुने आईसीसी विश्वकप लिग २ मा छ । त्यसमा पनि यूएई र नेपालको लागि लिग–२ को खेल निकै महत्त्वपूर्ण छ । किनकि आठ राष्ट्र सहभागी यो शृंखलामा नेपाल सातौँ स्थानमा छ भने यूएई पुछारको आठौँ स्थानमा छ ।
नेपाल र यूएई दुवैले २०–२० खेल खेलिसक्दा नेपालको १२ अंक छ भने यूएईको १० अंक छ । यदि लिग–२ मा सही स्थानमा फर्किने हो भने दुवैको लागि शतप्रतिशत जितको आवश्यकता छ ।
पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए। उनले ३५ बलमा चौका ३ प्रहार गरे।
उनले यसै खेलमार्फत कप्तानीमा डेब्यु गरेका छन्। यसअघि उनी टोलीका उपकप्तान थिए। तर, मुख्य प्रशिक्षक स्टुअर्ट लले नियमित कप्तान रोहितकुमार पौडेललाई आराम दिएपछि कप्तानी जिम्मेवारी ऐरीले पाएका हुन्।
कुशल मल्ल १७, कुशल भुर्तेल १६, बसीर अहमद १४, अर्जुन साउद १३ र नन्दन यादव १३ रनमा आउट भए। अन्य ब्याटरको प्रदर्शन खास रहन सकेन।
युएईका मुहम्मद जुहेवले सर्वाधिक ३ विकेट लिए। चार ओभर बलिङ गरेका उनले २९ रन खर्चिए। जुनेद सिद्दिकीले २ र हैदर अलीले १ विकेट थपे। तर, वर्षाका कारण खेल रोकिँदा युएईले १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो।
उक्त लक्ष्य युएईले ७ बल बाँकी रहँदै ४ विकेट गुमाएर पूरा गर्यो।