काठमाडौं । नेपाली महिला भलिबलको पहिलो फ्रेन्चाइज लिग वात्सल्य एभरेस्ट महिला भलिबल लिग को दोस्रो संस्करण यही भदौ २० गते शुक्रबार देखि पर्यटकीय नगरी पोखरामा सुरु हुँदैछ ।
लिगका लागि सहभागी ६ फ्रेन्चाइज टिमहरु पोखरा पुगिसकेका छन् भने लिग खेल्न विश्वका विभिन्न देशबाट पनि खेलाडीहरु नेपाल आएका छन् ।
साविक विजेता कर्णाली यशविसले यस सिजन ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलबाट दुई र युरोपियन राष्ट्र ग्रीसबाट एक खेलाडी अनुबन्ध गरेको छ ।
कर्णालीले ब्राजिलबाट सेटर आना फ्लाभिया र आउटसाइड हिटर मायरा भिटोरिया र ग्रीसकी एभान्जेलिया चान्टाभालाई अनुबन्ध गरेको हो ।
पहिलो संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको कर्णालीले मार्की प्लेअर सुमित्रा रेग्मीको कप्तानीमा खेल्दैछ । अक्सनबाट नयाँ खेलाडी अनुबन्ध गरेको कर्णालीले विदेशी खेलाडीको आगमनपछि उपाधि रक्षा गर्ने अभियान बनाएको छ ।
कर्णालीको अन्य नेपाली खेलाडीमा सफिया पुन, पुजा थारु, जसना महतो, रश्मिता दुरा, नेविका चौधरी, रेविका लामा तामाङ र एलिसा भुजु छन् ।