दुर्लभ वनस्पति ‘थुनबर्जिया कसजूआना’ डाक टिकटमा, यसरी पत्ता लगाएका थिए चौताराका कसजूले

दुर्लभ वनस्पति ‘थुनबर्जिया कसजूआना’ डाक टिकटमा, यसरी पत्ता लगाएका थिए चौताराका कसजूले

फरक पत्रिका

बुधबार, भाद्र ४ २०८२

दुर्लभ वनस्पति ‘थुनबर्जिया कसजूआना’ डाक टिकटमा, यसरी पत्ता लगाएका थिए चौताराका कसजूले

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सदरमुकाम चौताराका सरोजकुमार कसजूले पत्ता लगाएको दुर्लभ वनस्पति थुनबर्जिया कसजुआनाको चित्रलाई समावेश गरेर डाक टिकट जारी गरिएको छ । नेपालमा मात्र पाइने दुर्लभ र स्थानीय प्रजातिको वनस्पतिलाई संरक्षण तथा विश्वव्यापी प्रचार–प्रसार गर्ने उद्देश्यले नेपाल सरकारले यस प्रजातिको चित्र समावेश गरिएको डाक टिकट जारी गरिएको हो ।

यो महत्त्वपूर्ण प्रजातिलाई संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले २०८१ चैत १७ गते देखि १० रुपैयाँ अंकित मूल्य भएको डाक टिकट जारी गर्ने निर्णय गरेको थियो । यसका फूल हरियो पातको काखमा एक्लै उम्रने गर्छन् र गुलाबी रङका हुन्छन् । यस वनस्पतिको फूल फुल्ने समय भदौ र असोजमा हुन्छ भने फल लाग्ने समय मंसिरसम्म रहने गर्दछ ।

यसरी पत्ता लगाएका थिए कसजूले

१३ अगस्ट २०१६ मा चौताराका सरोजकुमार कसजूले नगरकोटमा फेला पारेको ‘सानो लहरो’नै विश्वमै नयाँ वनस्पति रहेको पुष्टि भएको हो ।
यसलाई बेलायतमा रहेको रोयल बोटानिक गार्डेनल अफ् क्यूले नयाँ जाति रहेको २०७७ जेठ पहिलो सातामा पुष्टि गरेको हो । कसजूले पत्ता लगाएको विरुवाको नाम ‘थुनबर्जिया कसजूआना’ राखिएको छ । विरुवाको नाम बेलायतको रोयल बोटानिक गार्डन एडिनबरा (आइबीजीई) ले राखेको हो ।

सानैदेखि वनस्पति विज्ञानमा रुची राख्ने कसजूले झण्डै दसकदेखि विरुवाको फोटो खिचेर विभिन्न वनस्पति परीक्षण गर्ने स्थानमा पठाउन थालेका थिए । सन् २०११ बाट आफूले विरुवाको फोटो खिच्न थालेको उनी बताउँछन् । खप्तड बाबाको पुस्तक ‘विचारको ज्ञान’ उनले अध्ययन गरेपछि उनको विरुवाप्रतिको शौख मात्रै नभई वनस्पतिप्रतिको प्रेम जीवनले ‘यूटर्न’ लियो । सो पुस्तकमा औषधिजन्य विरुवाहरुको बैज्ञानिक नामहरु थियो । उनले त्यतिबेला सोचे, ‘नेपालमा हजारौं विरुवा छन्, पहिचानको जरुरी छ ।’ यही सोचलाई पूर्णतामा बदल्दै सरोजकुमारले विभिन्न विरुवाहरु पहिचान गरेर नेपाली र अंग्रेजी नामको सूची तयार गरे । विरुवाको तस्वीर प्रेममा रमाएका कसजूले त्यतिबेला सोनीको डिजिटल क्यामेरा किनिसकेका थिए ।

विरुवाको फोटो खिचेर संकलन गर्नृे मात्रै नभई उनले विभिन्न पुस्तकलगायतहरु अध्ययन, अनुसन्धान गर्न थाले । अध्ययनकै क्रममा विरुवाहरुको पहिचान गर्ने अनलाइन साइट उनले फेला पारे । भारतबाट सञ्चालित ‘इफोरा इन्डिया गुगल ग्रुप’को उनी सदस्य बने । उनी २०१४ मा यो ग्रुपको सदस्य बनेका हुन् । यो ग्रुपमा वनस्पति विज्ञान अध्ययन गर्नेहरु मात्रै हुने गर्दछन् । इफोरा ग्रुपमा नियमित नयाँ नयाँ विरुवाका फोटोहरु पठाउने र पोस्ट गर्ने गरेका कसजूले यो नयाँ प्रजातिको विरुवालाई थुनबर्जिया लुथिया भनेर फेस्ट गरेका थिए । संसारभर वनस्पतिमा अध्ययन गर्नेहरुको साझा फोरमजस्तै रहेको यो ग्रुपमा कसजूले पोष्ट गरेको फोटोप्रति चर्चा भयो । कसजू विरुवाहरुको फोटो पोष्ट गर्ने र अनुसन्धान गर्नेमा यो ग्रुपमा रहेका संसारभरका बैज्ञानिकमा तेस्रो वरियतामा पर्छन् ।

उक्त ग्रुपमा थिए नेपाली डाक्टर भाष्कर अधिकारी । थुनबर्जिया नामक वनस्पतिका विशेषज्ञसमेत रहेका अधिकारीले कसजूसँग सम्पर्क गरे । उनले त्यतिबेला भनेको शब्द कसजू स्मरण गर्छन्, ‘यो विश्वमै नयाँ प्रजातिको विरुवा हुन सक्छ ।’ इफोरा ग्रुपबाटै चिनजानमा आएका डा. अधिकारीको यो भनाईले उनमा थप उत्सुकता बनायो । फलस्वरुप उनी उक्त लहराको फोटो लिएको स्थानमा पटक पटक पुगे । २०१६ मा फोटो पोष्ट गरेपछि पछिल्लो चार वर्षका अधिकांश समय उनले यही विरुवालाई समय खर्चिएका थिए । उनले यस विरुवाबारे अध्ययन अनुसन्धानमै चार वर्ष बितेको बताए ।

विश्वमै नयाँ प्रजातिको हुन सक्ने सम्भावना बढेसँगै कसजूले त्यसको फूल, फल, पात, डाँठलगायत सबैको फोटो खिचेर पठाए । नयाँ हुनसक्ने भएपछि सनु २०१९मा विशेषज्ञ डा. अधिकारी स्वयम् नगरकोट आइपुगेको कसजू बताउँछन् । ‘उहाँ आफै आएर हेर्नभयो, अनि आवश्यक डकुमेन्ट तयार गरियो ।’ डा. अधिकारी स्वयम्ले वनस्पति अवलोकन गरेर फर्केपछि विश्वभरमै रहेका अन्य परीक्षणकर्ता र बैज्ञानिकहरुले यसबारे अनुसन्धान गरेको कसजू बताउँछन् । डा. भाष्कर अधिकारी र जोन उडले त्यस विरुवाको थप अध्ययन गरेर बेलायतबाट प्रकाशित हुने ‘क्यू बुलेटिन’ नामक जर्नलमा लेख छपाएपछि विरुवाको औपचारिक पहिचान मिलेको थियो । विभिन्न स्थानमा गरिएको परीक्षण, अनुसन्धानबाट यो नयाँ प्रजातिको वनस्पति भएको पुष्टि भएको हो ।

यो विरुवा ५ मिटरसम्म लामो हुन्छ । सुरुमा कसजूले फोटो खिच्ने बेला सिंगो नगरकोटमा यसको एउटा मात्रै विरुवा थियो । दुई वर्षपछि झण्डै ३, ४ सय मिटरको फरकमा थप तीन विरुवा फेला परेको उनको भनाई छ । अगस्ट महिनामा फूल फुल्ने यो विरुवाबाट हुन सक्ने औषधिबारे परीक्षण भइरहेको छ ।

२०१४ साल माघ २५ गते जिल्ला सदरमुकाम चौताराको पुरानोबजारमा जन्मिएका उनले श्रीकृष्ण विद्याश्रममा प्रारम्भिक शिक्षा सुरु गरेका थिए । सानै उमेरदेखि वनस्पति प्रेममा झुम्मिने गरेका सरोजकुमारले राजधानीस्थित पद्मोदय माविबाट एसएलसी उत्तीर्ण गरे । अमृत साइन्स क्याम्पसमा अध्ययन गर्दैगर्दा उनमा झन् विरुवाप्रति उत्सुक बढेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2025 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित