काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट अवैध सुन र मोबाइलसहित तीनजना पक्राउ परेका छन् । विमानस्थलमा खटिएको प्रहरीले बुधबार टनेलमा चेकजाँच गर्दा ९९ लाख २९ हजार ६९८ रुपैयाँ बराबरको अवैध सुन र मोबाइलसहित उनीहरू तीनजनालाई पक्राउ गरेको हो । उनीहरूलाई सुन र मोबाइल भन्सार छलेर लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका १० सोबगाढाका ३२ वर्षीय सुनिल कुमार शाह रहेका छन् । उनको साथबाट ६ लाख ४० हजार पर्ने चार थान आइफोन १३ प्रो र तीन लाख ९५ हजार २२५ बराबरको ५० ग्राम सुन बरामद गरिएको छ । त्यस्तै मकवानपुर मनहरी ७ का २८ वर्षीय नवराज परियार १ लाख ६० हजार पर्ने आइफोन र ५० ग्राम सुनसहित पक्राउ परेका छन् ।