काठमाडौं । पत्रकार तथा फिल्म लेखक एवं समीक्षक सामिप्यराज तिमल्सेनाको लेखनमा बनेको चलचित्र माग्ने राजाको ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमा ’माग्ने राजा’को ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको ३ मिनेट ४० सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । यो सिनेमाको ट्रेलरमा मुख्य अभिनेता केदार घिमिरेलाई नै केन्द्रमा राखिएको छ ।
मुख्य अभिनेतामा केदारसहित वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, शारदा गिरीलाई ट्रेलरमा देख्न सकिन्छ । केदारले शीर्ष भूमिकामा अभिनय गरेको यो पहिलो सिनेमा हो । यसअघि उनी सहायक भूमिकामा सिमित थिए ।
आगामी भदौ ६ गतेबाट रिलिज हुने सिनेमाले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितीलाई ब्यंग्य गरेको छ ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । नरेन्द्र मैनालीले खिचेको सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।