सिन्धुपाल्चोक । पेटमा समस्या आएपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाकी एक नाबालिकालाई अस्पताल लगियो ।
मंगलबार बालिकालाई अस्पताल लगिएकोे थियो। अस्पतालमा उनले एक बच्चालाई जन्म दिइन्। अनि खुल्यो उनीमाथि नौ महिनादेखि विभिन्न समय र स्थानमा लगातार बलात्कार भएको घटना । त्यही बलात्कारबाट गर्भ बस्यो अनि उनले समय पुगेपछि बच्चा जन्माइन् ।
उसो त पीडित नाबालिकाले यस घटनाबारे प्रहरी वा परिवारलाई पनि जानकारी नगराएको खुलेको छ । र,नाबालिकाले पनि गर्भवती भएकोबारे वास्ता पनि गरिनन् । न, त परिवारले ध्यान नै दियो । अन्ततः नाबालिग किशोरीले बच्चा जन्माइन् ।
अनि, हल्लाखल्ला भयो । र खुल्यो स्थानीय ५० वर्षीय प्रेमबहादुर श्रेष्ठले उनलाई नौ महिनादेखि लगातार बलात्कार गर्दै आइरहेको रहस्य ।
उनी पक्राउ परे ।
सुत्केरी भएपछि चिकित्सकहरु अचम्भित भए । कारण आमाको उमेरमा शंका थियो । अस्पतालमा सुत्केरी गराउने बेला आमाको उमेरमा शंका लागेपछि प्रहरीलाई अस्पतालले खबर गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेलले जानकारी दिए ।
अनि, प्रहरीले अनुसन्धान गरेर प्रेमबहादुरलाई पक्राउ गरेको हो।
पक्राउ परेका प्रेमबहादुरमाथि प्रहरीले जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ।