कतै देखिएका जस्ता, कतै भेटिएका जस्ता, अनि कतै सुनिएका जस्ता ।
हुनसक्छ कसै कसैलाई यिनी पागल लाग्न सक्छ, अनि कतिपयलाइ विद्वान पनि ।
पागल नलागोस् पनि कसरी ।
हरेक साँझ बिहान यिनी समाजले भुस्याहा भन्ने गरेका सडक अनि गल्लीमा देखिने कुकुरहरुसँग रमाइरहेको अवस्थामा भेटिन्छन्, बिस्कुट खुवाइरहेको अवस्थामा देखिन्छन्, र, देखिन्छ कुकुरहरुले उनलाई पछ्याइरहेको दृष्य ।
त्यसैगरि समाजले खाते भनेर अपमान गर्ने गरेका भूईंमान्छेहरुसँग गफिइरहेको अवस्थामा भेटिन्छ यिनलाई, र उनीहरुलाई पनि खाना या खाजा खुवाइरहेको अवस्थामा पनि देख्न सकिन्छ ।
उस्तै गरि देखिन्छ यिनलाई कतै सडक खनेका ठाउँहरुमा, कतै बाढी आएका खोलाका बगरहरुमा ढुंगा अनि ढलेका रुखमा जराहरु खोजिरहेको ।
हो, त्यसैले पनि यिनलाई विभिन्न अवस्थामा देख्नेहरुले पागल नै भन्न सक्छन् ।
………….
र, यसकारण यिनलाई कतिपयले विद्धान मान्छन् ।
प्रायः एकान्तमा रहेर अनेक सोच्ने गरेको पनि देखिने यिनलाई अनेकौं सभा समारोहमा कविता वाचन गर्दै गरेको देख्नेहरुको कमी छैनन् ।
अधिकांश पत्रपत्रिकामा आलेख, कार्टुन उनकै छापिन्छ, रेडियोमा उनको स्वर र कार्यक्रम गर्ने शैलीकै कारण उनी गाउँवासीका लागि एउटा छुट्टै सेलिब्रेटी हुन् ।
अमूर्त चित्रकलामा अब्बल प्रतिभा यिनीसँग छ । र, त संयौ साहित्यिक कृतिहरुमा आवरण यिनै कोरेका छन् ।
यिनीले लेखेका दर्जनौं गीतहरु रेडियोमा गुन्जिन्छन्, टेलिभिजनमा देखिन्छन् ।
अझै भनौं कालो कोट भिरेर यिनी अदालतमा बहस गर्न पनि पुग्छन् ।
अझै भन्नुपर्दा सामान्य आफैले बनाएको फ्रेममा सेता कपडामा कोरिएका चित्रहरु यिनका घरमा प्रसस्तै देख्न पाइन्छ ।
खासमा उनी आफैर्लाइ थाहा छैन कि मेरो काम के हो ।
तर, खासमा यिनी सरकारी जागिरे हुन् । बालबच्चालाई पढाउने । तर अहिले शिक्षकबाट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको शिक्षा शाखामा कार्यरत छन् ।
हो उनी, पेशाले शिक्षक हुन् । उनको पहिचान यत्तिमै मात्र सिमित छैन । सिन्धुपाल्चोकबाट प्रकाशित हुने ओखरेनी साप्ताहिकका सम्पादक, वकिल, साहित्यकार, चित्रकार, समाजसेवी अनि रेडियोका कार्यक्रम प्रस्तोता हुन् ।
त्यसैले पनि उनलाई विद्धान अनि प्रतिभाका खानी भन्नेहरुको कमी छैन ।
र यिनी हुन्, एउटा अलौकिक व्यक्ति, विलक्षण प्रतिभा बोकेका अमित घिमिरे ।
……. ……………………………………………….
सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारको एक छेउमा टुँडिखेल छ । टुँडिखेल पस्ने गेट छेउमै पीपलको चौतारी देखिन्छ । त्यही चौतारी मुनीको आफ्नै तीन तल्ले घरमा बस्छन् उनी । झुस्स दाह्री, ठिकै लामो कपाल अनि सामान्य जीवन बाँच्ने गर्दछन् । उमेरको गणितले चार दसक नाघिसकेका घिमिरेलाई नजिकबाट नियाल्नेहरु अचम्भित यसकारणले हुनेगर्दछन् कि यो मान्छेले आखिर कसरी यो सबै गर्ने समय निकाल्छ । समाजिक सञ्जालमा पनि उत्तिकै क्रियाशील उनी अझ खासमा समाज परिवर्तनका संवाहक हुन् । एउटा फरक खालका समाजसेवी हुन् ।
………..
शिक्षणमा बालबालिकाका सारथि
त्यतिबेला जिल्लाका विकट गाउँ भनेर चिनिइने सिम्पालकाभ्रे अनि स्याउलेका विद्यालयमा पढाए, पछि पीपलडाँडाको श्री सिद्धि कमलादेवी माविमा अध्यापन गरे । अध्यापनका समयमा उनले कहिल्यै किताबका पाना पल्टाएनन्, बालबालिकाको मनोभावना बुझेर फरक शैलीमा पढाउँथे, त्यसैले त उनी आफै भन्ने गर्छन्, ‘म सफल शिक्षक हुन सकिँन,’
तर, रिजल्ट निकै उत्कृष्ट आउँथ्यो,
उनी विद्यालयमा प्रवेश गरेपछि बालबच्चा झुम्मिन्थे, गालामा म्वाईं गर्दथे, साना बच्चाहरु उनकै काखमा निदाउँथे । कारण बालबालिकालाई एउटा गहिरो प्रेम गरेका थिए उनले ।
पत्रकारिताका प्रेरक
मुलुक द्धन्द्धको चपेटामा थियो । कहाँ के हुन्छ भन्ने कसैले सोच्नसमेत सक्दैनथे । त्यतिबेला उनले आलेख लेख्न थाले । कहिले राज्य पक्षबाट त कहिले तत्कालीन बिद्रोही पक्षबाट जे पनि हुन सक्ने सम्भावनाले विभिन्न पत्रपत्रिकामा छद्म नामबाट उनको आलेख प्रकाशित हुन्थ्यो । जिल्लाकै जेठो पत्रिका सिन्धु सन्देश साप्ताहिकमा उनले परिवेश नामको कोलममा स्तम्भ लेखे झण्डै डेढ दसक ।
विभिन्न पत्रपत्रिकामा आलेख लेख्ने क्रम चल्दै गर्दा २०६७ सालमा उनले आफ्नै नाममा पत्रिका दर्ता गरे । अनि आफै सम्पादक भएर काम थाले । पत्रिकाको नाम थियो ओखरेनी साप्ताहिक । जुन अहिलेसम्म पनि निरन्तर छ ।, त्यहाँ उनको कार्टुन हरेक हप्ता प्रकाशित पनि हुने गर्दछ ।
‘पत्रकारितामा सफल छैन । किनकि म जस्को बारे लेख्छु उसले पढ्न पाउँदैनन् ।’ उनी भन्छन् ।
स्थानीय रेडियो सिन्धुबाट रेडियो कार्यक्रम पनि गरे र अझै गर्दैछन् । घिमिरेको रेडियो कार्यक्रम निकै फरक खालको छ । उमेरले ६० नाघि सकेकाहरुसँग अन्तरंग कुराकानी गरेर उतिबेलाको परिवेश, समाजलाई चित्रण गर्नसक्नु उनको खुशी हो । रेडियो कार्यक्रम जमानाबाट उनले समाजका आमा बुबाहरुको सुख दुःख साट्ने गर्दछन् ।
रेडियोबाटै प्रशारण हुने अर्काै कार्यक्रममा उनले समाजबाट बहिष्कृत भएका, समाजले माग्ने, खाते उपनाम दिएका व्यक्तिहरुको जीवन संघर्षलाई कलात्मक ढैगले प्रस्तुत गर्ने गर्दछन् । त्यसै कारण पनि साँझ विहान उनी यस्तै भूईंमान्छेहरुसँग भेटिने गरेका हुन् ।
साहित्यमा सक्रियता
पछिल्ला वर्षमा देशभर एउटा साहित्यिक कार्यक्रमले चर्चा बटुलेको छ । त्यो हो सिन्धुपाल्चोकमा हरेक साता सञ्चालन हुने कार्यक्रम शब्द सारथिको । अमित यो संस्थाका अध्यक्ष हुन् । उनकै अगुवाईमा हरेक साता कार्यक्रम हुने गर्दछ ।
साहित्यमा यिनी तन, मन, वचन अनि कर्मले क्रियाशील छन् । जिल्लाको लिखित साहित्यको एक सय २० वर्षको इतिहास संकलन गरेर सिन्धुपाल्चोकको साहित्यलाई उचाईंमा पु¥याउने घिमिरे सिन्धु साहित्य अभिलेखालयका अध्यक्ष पनि हुन् । उनका हालसम्म ‘तिम्रो यादमा’ कथासंग्रह, प्रजातन्त्र सयूंक्त हाइकुसंग्रह, सम्झनामा झपडबहादुर अनुभूति संग्रह, यूगिन साधक चन्द्रप्रसाद, सलह लघुकथा संग्रह आदि प्रकाशित छन् । उनले लेखेको मौन व्यथा, निरंकुश प्रजातन्त्र, काल रात्री, कालो सडक, जिन्दगी, त्रासलगायतका दर्जनौं नाटक मञ्चन भइसकेको छ ।
अझ सम्भवतः कतै नलेखिएको, कतै संकलन नगरिएको तीन वटा पुस्तक तयार पारेका छन् यिनले । जसको नाम जुराएका छन्, कयश । कयश भित्र यस्ता रचना छन्, जुन पाठकले पढ्दा बेला बेला सिरिङ्ग हुनुपर्ने अवस्था आउँछ, र कतिबेला आँसु झरिरहेका पनि हुनसक्छ पढ्दा पढ्दै । हो, कयश यस्तो संकलन हो जुन त्यही समाजले खाते भन्ने गरेकाहरुको सत्य जीवन कथामा आधारित छ ।
‘नौ कृति प्रकाशन भए । अरु बाँकी छ । एक लाख ८४ हजार शब्द भएको कृति छ । तर आर्थिक् अधावका कारण प्रकाशन गर्ने सामर्थ छैन । हिम्मत छैन ।’ उनी भन्छन् ।
यिनले रचना गरेका दर्जनौं गीतहरु रेकर्डिङ भए । २०६२ मा भएको राष्ट्रिय हिमालयन अन्तर व्याण्ड म्युजिक प्रतियोगितामा उनले ‘बेस्ट लिरिस’ पनि अवार्ड प्राप्त गर्न यिनी सफल भए । गायक चन्द्रसिं घलेको वरमा रहेको खेल यो बन्दुक बारुदको अति भो–जे जस्को भो नेपालीकै खति भो बोलको गीतले अवार्ड पाएको थियो । करिब दुई दसकअघि सिर्जिएको बालगीत सानु तिम्रो हातले बोलको गीत, जिल्लाको पहिचान झल्काउने जुगलको आँगन मेरो, चौतारा नगरपालिकाको पर्यटकीय महत्व वोकेको चौतारा बोलको गीत पनि उनकै शब्दले सजिएको छ । त्यस्तै अभ्यस्त जिन्दगी, चिरीसकें छाती मैले, रच्नु रचे आफन्तले, आँखा चिम्ली विश्वासलगायतका उनले रचना गरेका डेढ दर्जन गीतहरु रेकर्डिङ भएका छन् ।
कलामा कौशल
वास्तवमा सबैको इच्छा, चाहना अनि सपना फरक हुन्छ । सोचाइ र भोगाइ पनि फरक हुन्छ । अनि हुन्छ भूगोल र प्रकृतिलाई आँखाले देख्ने फरक दृष्टिकोण । यसैले अरुका आँखाले नदेखेको जराजुरी, फलफूल अनि बगरका ढुंगामा मान्छेका वास्तविक यौन जीवन उनले देख्न सकेका छन् ।
त्यसैले बगर र पहाडी कुना कन्दरामा एक्लै ‘जीवन’ खोजिरहेको अवस्थामा प्रायः भेटिन्छन् । उनी कहिले फालिएका रुखका जराजुरीमा प्रकृतिको यौन देख्छन् त कहिले बगरका ढुंगा अनि फलफूल तथा तरकारीहरुमा । अनावश्यक भएर फालिएका जराजुरी अनि बगरका ढुंगा उनका लागि यसकारण प्रिय छन् कि उनले त्यहीं बास्तविक जीवन देख्छन् । अनि आफ्नो अमूर्त यौनकलामा उतार्छन् ।
नयाँ प्रयोगका रुपमा उनले अहिले फलफूलसँग चित्रको समायोजनबाट मानिसको यौन जीवन झल्काउने र बगर कलाको सुरु गरेका छन् । विशेषगरि यिनी फालिएका र खेर गएका सामग्रीलाई कलात्मक तरिकाले पुनः प्रयोगमा ल्याउनमा माहिर छन् ।
खोलामा खेर गएका कलात्मक ढुंगाको प्रयोगबाट यिनले अनेका आकृति निकाल्छन्, त्यसैले यिनलाई समय समयमा खोलामा भेटिन्छ । ढुंगाकै क्यानभासमा उनी हराउँछन् । विशेषतः अमूर्त यौन जीवनलाई आफ्नो कलामा उतार्ने अमित प्रकृतिका सबै वस्तुले यौनको झल्को दिने दावी गर्छन् । प्रकृतिले यौनलाई विभिन्न तरिकाबाट देखाएको हुन्छ त्यसलाई अमूर्त चित्रसँग समायोजन गर्दा वास्तविक जीवन पाएको महसुस उनले गर्ने गर्दछन् । नयाँ प्रयोगका रुपमा सुरु गरेको बगर कलामा विभिन्न आकार र प्रकृतिका ढुंगा प्रयोग उनले गर्ने गरेका छन् । जराजुरी, फलफूल तथा तरकारी, बगरका ढुंगाहरुलाई कलामा उतारेर उनले रहस्यमयी यौन जीवनको सरलता उतार्छन् ।
दसकअघि यिनले ‘कला र यौन’ शिर्षकको जराजुरीबाट बनाइएको कला र अमूर्त चित्र प्रदर्शनी गरे । शिक्षण पेशाको सिलसिलामा पैदल जाँदै गर्दा बाटोमा फालिएका रुखका जराजुरी संकलन गरेर उनले आफ्नो कला प्रस्तुत गरेका थिए । जरामा उनले मानव आकृति देखाई यौन झल्काएका थिए ।
सम्भवतः हालसम्म कसैले नगरेको कला सुरुआत गरेका छन्–फलफूलसँग चित्रको समायोजनबाट मानिसको यौन जीवन झल्काउने कला । यो विल्कुलै नयाँ प्रयोग हो सम्भवतः कसैले नगरेको हुन सक्छ । उनले अमूर्त चित्रमा फलफूल तथा तरकारीको तस्वीरलाई समायोजन गरेर चित्र तयार पार्दछन् । जंगलमा पाइने चुत्रोको दानालाई युवतीको वक्षस्थलसँग तुलना गरेर नयाँ कला पस्केका छन् ।
चित्रकलामा चमत्कार
घिमिरेले हालसम्म एक हजार जति अमूर्त चित्र कोरिसकेका छन् । उनको कला राजधानीका क्याफेहरुमा प्रदर्शनका लागि राखिएको छ । कतिपय चित्रहरु साहित्यिक पुस्तकका कभर बनेका छन् । घिमिरेकाअनुसार जिल्ला र बाहिरका स्रष्टाहरुले प्रकाशन गरेका चार सय जति पुस्तकका आवरण भरेका छन् । उनी आफै साहित्यिक व्यक्ति भएकाले उनले पुस्तकका लागि कोरेका चित्रको पारिश्रमिक लिदैनन् । कविता, गीत, मुक्तक, हाइकु, नाटकलगायतका विषयमा उनका कलम चल्ने गर्छन् । विश्वकै दस ठूला काव्य भित्र पर्ने साहित्यकार चन्द्रप्रसाद न्यौपानेको वृहत्तर महाकाव्य चन्द्रयुगको आवरण कलासमेत उनकै हो ।
सबै विषवस्तुलाई एकैचोटी अंकमाल गर्ने क्षमता छ रहेका घिमिरे व्यङ्गय, राजनीति, समाज अनि यौनका विभिन्न रुपलाई सरल माध्यमबाट चित्र कोर्छन् । समाजमा भएका घटनालाई देखेर, भोगेर अनि सुनेर मन उथलपुथल हुन्छ र कलम अनि कुची चल्छ घिमिरेको ।
‘रुखको जरामा विशुद्ध यौन हुन्छ । त्यसले मानव चिनाउँछ । म जरामै जीवन देख्छु ।’ उनले आफ्नो कलाबारे भने ।
‘सशस्त्र युद्धमा बोल्न पाइदैनथ्यो, लेख्न पाइँदैनथ्यो । दमनको प्रतिकार गर्ने ठाउँ खोजेको बेला पोखिएको पानी, आकृति बदलिरहने आकाशका बादलबाट प्रभावित भई यस्तो कला पोख्न थालेको हुँ ।’ उनी भन्छन् ।
फेरि, एकल अमूर्त चित्रको प्रदर्शनी तयारीमा जुटेका घिमिरे कला, साहित्यमा योगदान गरेवापत वेष्ट लिरिस एवार्ड, प्रगति कला सम्मान, सरस्वती कलासम्म दर्जनभन्दा बढी साहित्यिक उपाधि पाइसकेका छन् । र, अहिले पनि उनी यही जीवन जिइरहेका छन् । जसका कला, सिर्जनाले एउटा नयाँ पाठ दिइरहेछ ।
बहसमा बबाल
कानुन विषय पनि अध्ययन गरेर अधिवक्ता बनेका उनले बहस थोरै मात्र गरेका छन् । तर, आफ्नै साथीभाईको त्यो पनि निशूल्क । अदालतमा उनले बहस गर्दाको शैली, उदाहरण अनि शब्द चयनले बहस हेर्नेहरु उनका फ्यान भए । उनले गरेका बहस उनकै पक्षमा परेका छन् ।
अहिले त जागिरे जीवन बिताइरहेका छन् । जागिरको रिटायर्डपछि उनी निम्न आयस्रोत भएकाहरुको पक्षमा निशुल्क बहस गर्ने योजनामा छन् ।
भूई मान्छे र कुकुर प्रेम
यहाँँनेर उनको स्वभाव निकै भिन्न लाग्छ, सडकमा डुलिहिँड्ने भूईंमान्छेसँगको सामिप्यता । हो, भुस्याहाँ भनिएका कुकुरहरु अनि खाते भनिएका भूइमान्छेहरुको कुनै जात, धर्म र आफ्नो मान्छे हुँदैनन् । उनीहरुको राज्य हुँदैन, देश हुँदैन । त्यसैले यिनीहरुलाई खुबै माया गर्छन् घिमिरे । यस्ता समाजले नगन्ने, छिछि र दुरदुर गर्नेहरुलाई नजिक राख्न यसकारण रुचाउँछन् कि उनीहरुको कोही आफ्नो हुँदैनन् । त्यसैले त आफ्नो जीवन रहुञ्जेल यिनीहरुलाई प्रेम गर्ने इच्छा राखेका छन् ।
……….
हो, त्यसैले हुनसक्छ कसै कसैलाई यिनी पागल लाग्न सक्छ, अनि कतिपयलाई विद्धान पनि ।