काठमाडौं । इतिहास रच्ने मौका । एउटा ठूलो अवसर । प्रतिष्ठाको लडाईं । ठूला प्रतियोगिता खेल्ने सपना । एसियन कप, विश्वकप अनि ओलम्पिक ।
एउटै खेलबाट सबै गुमायो नेपालले ।
फेरि निराश बने महिला फुटबलका नेपाली समर्थक । महत्वपूर्ण तथा निर्णायक खेलमा जित नजिक पुगेर पनि नेपालले सफलता हात पार्न सकेन ।
एसियन कप छनोटमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएसँगै नेपालले धेरै अवसर गुमाएको हो ।
निर्धारित समयमा दुई गोलले पछि परेको नेपालले कप्तान सावित्राको प्रेरणादायी प्रदर्शनमा निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा पु¥याएको थियो ।
खेल बराबरी भएपछि अंक र गोल अन्तर सबै बराबरी हुने हुँदा समूह विजेताको टुङ्गो पेनाल्टीसुटआउटमा लगाइएको हो । जसमा कप्तान सावित्रा नै चुक्दा नेपालले अवसर गुमायो । उज्बेकिस्तानका चारै खेलाडीले पेनाल्टीमा गोल गरे ।
नेपालका लागि पहिलो पेनाल्टी नै सावित्राले गुमाएपछि गीता राना र सविता राना मगरले गोल गरिन् । तर चौथो पेनाल्टी गोलकिपर अन्जना राना मगरले मिस गरेपछि नेपाल पेनाल्टीसुटआउटमा ४–२ ले पराजित भयो ।
यो हार नेपालका लागि एउटा खेलमा मात्र हार थिएन । लगातार दोस्रो पटक महिला एसियन कप छनोट खेलेको नेपाल लगातार दुवै पटक एसियन कपमा पुग्न सकेन ।
यसको अर्थ नेपालले महिला एसिया कप मात्र गुमाएन, फिफा महिला विश्वकप २०२७ र लस एन्जलस ओलम्पिक २०२८ को पनि ढोका बन्द भएको छ ।
महिला एसियन कप र विश्वकप र ओलम्पिकको पनि छनोटको आधार भएकोले एसियन कपमै छनोट नहुँदा नेपालले एकै पटक तीन मुख्य प्रतियोगिताको अवसर गुमाएको हो ।
जित्नैपर्ने खेलमा नेपालले नतिजा आफ्नो पक्षमा पार्न नसक्दा नेपाली महिला फुटबल तत्कालका लागि पछाडि धकेलिने पक्का छ ।