सिन्धुपाल्चोक । बर्खा सुरुभए लगत्तै किसानहरु खेतीपातीमा फर्केपछि जिल्लामा रोपाईंले तीव्रता पाएको छ । समयमै पर्याप्त पानी परेपछि सिन्धुपाल्चोकका किसानहरु रोपाईंमा व्यस्त भएका छन् ।
असार सुरु भएदेखि नै किसानलाई रोपाईंको चटारोले छोएपछि जिल्लाका खेतीयोग्य जमिनमा रोपाईं भएको हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष पानी छिट्टै परेकाले जिल्लामा रोपाईंले गति लिएको छ । अघिल्लो वर्ष समयमै पानी नपरेपछि रोपाईं ढिला भएको थियो । पछिल्लो साता पर्याप्त पानी परेपछि रोपाईंको गति ह्वात्तै बढेको हो ।
जिल्लामा १२ हजार २ सय ३५ हेक्टरमा धानबाली लगाइने गरिएको छ । सो मध्ये झण्डै ४ हजार पाँच सय हेक्टरमा रोपाईं भइसकेको अनुमान छ । गएको वर्ष यो समयसम्म जिल्लामा १० प्रतिशत पनि रोपाईं हुन पाएको थिएन ।
पानीको मुल नखुलेपनि दिनदिनैजसो पानी परेपछि किसानहरुले रोपाईंमा ध्यान लगाएका हुन् । आकासे पानीको भर पर्नुपर्ने फाँटमा पनि रोपाईं चलिरहेको छ । रातको समयमा हुने बर्षाले खेतमा आवश्यकअनुसारको पानी जम्मा हुने हुँदा रोपाई चलिरहेको किसानहरु बताउँछन् । पानी भएका कारण जिल्लाको हिमाली भेगसहित इन्द्रावती र मेलम्ची करिडोरमा पनि रोपाई भएको छ ।
मानो रोपेर मुरी उब्जाउन तल्लीन रहेका किसानहरु अहिले खेतमा खटेका छन् । औसतमा असार मसान्तसम्म हुनुपर्ने रोपाईं सकिइसकेको छ । यही गतिमा जिल्लामा रोपाईं भए पानी परेअुनरुप मुल खुलेको खण्डमा साउन दोस्रो सातासम्म सबै खेतीयोग्य जमिनमा रोपाईं सकिने अनुमान छ । जिल्लामा कुल धानीबाली लगाईने फाँटमध्ये ३ हजार २ सय ५९ हेक्टरमा चैते धान पनि लगाईन्छ । चैते धान लगाएका किसानहरुले पनि यो वर्षको बर्खे धान लगाउन सुरु गरिसकेका छन् ।
अघिल्ला वर्षको तुलनामा यो वर्ष समयमै किसानले बाली लगाएकाले उत्पादन बढ्ने अनुमान गरिएको छ । जिल्लामा प्रति हेक्टर २.३३ मेटिक टन धान उत्पादन हुन्छ । जिल्लाका फाँटमा खुमलचार, मकवानपुरे–१ लगायत उन्नत जातका धान बीऊ लाग्दै आएको छ । तर, पछिल्लो वर्षदेखि नयाँ बीउकोसमेत प्रयोग हुन थालेको छ । स्थानीय जातका धान बीऊसमेत लाग्ने भएपनि उन्नत जातका बीऊले ढाक्दै गएको किसानहरु बताउँछन् । जिल्लाको भीमटार, मांहाकाल, तिपेनी, जलबीर, बतासेलगायत मेलम्ची र इन्द्रावती करिडोरमा अन्य ठाउँको तुलनामा धान उत्पादन बढी गरेको छ ।