लुटेको नगदसहित आधा घण्टामै पक्राउ परे सिन्धुपाल्चोकका एकसहित पाँच युवा

लुटेको नगदसहित आधा घण्टामै पक्राउ परे सिन्धुपाल्चोकका एकसहित पाँच युवा

फरक पत्रिका

सोमबार, असार १६ २०८२

लुटेको नगदसहित आधा घण्टामै पक्राउ परे सिन्धुपाल्चोकका एकसहित पाँच युवा

काठमाडौं  – काठमाडौं महानगरपालिका–९, गौशालास्थित रुन्चेडाँडामा वैदेशिक रोजगारबाट फर्किएका एक व्यक्तिलाई डरत्रास देखाई नगद ४५ हजार रुपैयाँ लुटपाट गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ का ४० वर्षीय बिपिन लामासहित पाँच युवालाई लुटेको आधा घण्टामै प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गत शुक्रबार साँझ ६ बजे घटना भएको सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले खोजतलास गर्दा साँझ ६:२८ बजे काठमाडौं महानगरपालिका–८, गौशालाबाट लुटिएको ४५ हजार रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा काठमाडौं, दक्षिणकाली नगरपालिका–४ का ३२ वर्षीय राम बहादुर तामाङ, सिन्धुपाल्चोक, लिसङ्खुपाखर गाउँपालिका–३ का ४० वर्षीय बिपिन लामा, महोत्तरी, बर्दिबास नगरपालिका–६ का ३८ वर्षीय बिनोद मगर, रामेछाप, सुनापाति गाउँपालिका–३ का ३० वर्षीय राजु तामाङ, रामेछाप, मन्थली नगरपालिका–१६ का ३० वर्षीय राजकुमार माझी रहेका छन्।

लुटपाट गरी डाँका गर्न नहुने कसुरमा उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित