‘सिरानीले मुख च्यापेर हत्या गरें, गहना निकालेर शव नालीमा फालिदिएँ’

‘सिरानीले मुख च्यापेर हत्या गरें, गहना निकालेर शव नालीमा फालिदिएँ’

फरक पत्रिका

आइतबार, असार ८ २०८२

‘सिरानीले मुख च्यापेर हत्या गरें, गहना निकालेर शव नालीमा फालिदिएँ’

काठमाडौं । ‘भाउजू सुतेको बेला सिरानीले मुख च्यापेर हत्या गरे, कानमा लगाएको गहना निकाले र शव  बाहिर लगेर नालीमा फालिदिएँ ।’ कैलालीको गौरीगंगा नगरपालिका–७  कैलाशपुरका नवीन नाथले प्रहरीसामू यस्तो बयान दिए । अनि प्रहरीले १९ वर्षीय सुत्केरी  तुलसी नाथको आफ्नै देवरले हत्या गरेको निष्कर्ष निकालेको छ ।

कैलाशपुरमा शुक्रवार बिहान १९ वर्षीय सुत्केरी तुलसी नाथ मृत भेटिएकी थिइन् ।

विगतदेखिको सामान्य विवाद र सुनका गहनाका कारण आफूले भाउजूको हत्या गरेको पक्राउ परेका नवीन नाथले प्रहरीलाई बयान दिएका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) रणबहादुर चन्दले पनि सहोदर देवरले तुलसी नाथको हत्या गरेको अनुसन्धानबाट खुलेको बताए ।

‘शवको पोस्टमार्टम हुन बाकी छ । तर, घटनाको प्रकृति र पक्राउ परेका युवकको बयानका आधारमा उनैले हत्या गरेको प्रारम्भिक ठहर छ ’ उनले भने ।

नवीनले सुनका गहनाका लागि आफूले हत्या गरेको स्वीकार गरिसकेको उनले बताए ।

भाउजूको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको भन्दै आफ्नो बुवालाई दिएको सूचनाको आधारमा प्रहरीले घटनामा उनको संलग्नता भएको पुष्टि गरेको थियो ।

सामान्य विवाद र सुन मोहले हत्या भएको प्रहरीको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित