झापा । झापाको कमल गाउँपालिका–३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयमा दुई शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरिएपछि १५ दिनदेखि शैक्षिक वातावरण तनावग्रस्त बनेको छ ।
गएको साउन २९ गते गाउँपालिकाले शिक्षक नवराज नेम्वाङलाई विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त गरेको थियो । लगत्तै भोलिपल्ट साउन ३० गते व्यवस्थापन समितिले पालिकाको निर्णय अस्वीकार गर्दै शिक्षक शिवप्रसाद भट्टराईलाई प्रधानाध्यापक नियुक्त गरेको हो ।
एउटै विद्यालयमा दुई प्रधानाध्यापक नियुक्त गरिएपछि विद्यालयको शैक्षिक वातावरण खल्बलिएको विद्यार्थी सञ्जालका अध्यक्ष लक्ष्मण चौधरीले बताए । “प्रधानाध्यापक को बन्नुभयो भन्ने विषयमा भन्दा पनि विद्यालयको पठनपाठन बिथोलिनु हुँदैन भन्नेमा हामी केन्द्रित छौँ,” उनले भने, “बाहिरका नचिनेका व्यक्ति यसलाई बनाउनुपर्यो र उसलाई बनाउनुपर्यो भन्दै विद्यालयको हाताभित्र पसेर होहल्ला मच्चाउँछन् । यसले पठनपाठन प्रभावित भइरहेको छ ।”