सिन्धुपाल्चोक (सुकुटे)– जिल्ला बन कार्यालयको बन डिभिजन कार्यालय सुकुटेको सहयोगमा सुकुटे रिभरफन रिसोर्टले २०० बिरुवा रोपेको छ । सुकुटेको पुलबाटै सडकको दायाँ–बायाँ साइडको सार्वजानिक स्थानमा लहरै बिभिन्न प्रजातीका करिब २०० बिरुवा साउनको १४ र १५ गते रोपिएको हो ।
बन डिभिजन कार्यालयले बिरुवा उपलब्ध गराए पनि त्यसलाई ल्याउने, रोप्ने, बार्ने र मल जल गरि संरक्षण गर्ने काम सुकुटे रिभरफन रिसोर्टले गर्ने रिसोर्टका सञ्चालक तथा सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजका कोषाध्यक्ष बिमल गिरीले बताए । उनले भने ‘कल्की, धुपी, तेजपात, कपुर, बकमबेली लगायतका बिरुवाहरु लगाएका छौं । बिरुवा लाउनु सजिलो भए पनि त्यसको रेखदेख र मल–जल गर्न कठिन नै हुन्छ ।’
गिरीले थपे ‘यो वर्ष हामीले शुरुवात गरेका हौ, अब यसलाइ हरेक वर्ष निरन्तर रुपमा अगाडी बढाउने छौं ।’ उनले आफु र साथीहरुले गरेको योजना सुनाउदै भने, ‘सुकुटेका सबै रिसोर्टहरुले साथ सहयोग गरेमा हरियाली सुकुटे अभियान गर्ने र यहाँ आउने पाहुनाहरुलाई बार्है महिना प्रकृतिक सुन्दरताको अनुभव लिन सक्ने बनाउने यौजानमा छौं । यस्तो कामले पहिरो पनि राकिने र सुन्दरता पनि बढ्ने छ । ’