काठमाडौँ – एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच आइतबार नोबेल मेडिकल कलेजमा झडप भएको छ । झडपका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका केन्द्रीय सचिव किसन भगतसहित केही विद्यार्थी घाइते भएका छन् । भगतको टाउकोमा चोट लागेको छ ।
सो क्रममा विद्यार्थीले कलेजमा तोडफोड गरेका छन् । रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले तोडफोड गरेका हुन् । नोबेलका सुरक्षा गार्डले लाठी प्रहार गरेपछि आक्रोशित भिडले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।
कर्मचारीहरूसँग विद्यार्थी नेताहरूले वार्ता गरेर अनशन बस्न लागेको बेला भाटा लिएर तयारी अवस्थामा बसेका सुरक्षा गार्डले विद्यार्थीहरुमाथि खनिएका थिए ।