सिन्धुपाल्चोक । समृद्ध चौतारा साँगाचोकगढी नगरपालिका निर्माणका लागि नेपाली कांग्रेस र नेकपा एमालेले संयूक्त रूपमा ध्यानाकर्षण गराएका छन् । शुक्रबार दुई पार्टीका नेताहरूले नगर प्रमुख कृष्णप्रसाद सापकोटा र उपप्रमुख सीता थापालाई पत्र बुझाउँदै १६ बुँदे माग गरेका हुन् ।
कांग्रेस नगर सभापति इन्द्रलोचन धिताल,एमाले नगर अध्यक्ष खिलबहादुर श्रेष्ठ, नगर प्रमुख प्रत्यासी केशव राज गिरी र इन्द्रबहादुर नेपालद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र बुझाइएको हो । पत्र बुझ्दै नगरप्रमुख सापकोटाले माग सम्बाेधनका लागि पहल गर्ने बताए ।
काँग्रेस र एमाले पार्टीको नगर स्तरीय संयुक्त निर्णय अनुसार नगरमा नीतिगत कमी कमजोरीका कारण विकास निर्माणका कार्यहरुले गति लिन नसक्नेदेखि नगरको छवि धुमिल हुन सक्ने सम्भावनालाई नजरअन्दाज गर्न नसकिने भएकाले समस्या हल गर्न ध्यानाकर्षण गराएका हुन् ।
यस्ता छन् मागहरू:
१. शिक्षक कर्मचारी छनौट, दरवन्दी मिलान, सरुवा बढुवा गर्ने सन्दर्भमा शिक्षक संघ संगठन समाविष्ट एक कार्यदल गठन गरी त्यस कार्यदलको योजना र निर्णयको सिफारिस अनुसार मात्र शिक्षक कर्मचारीहरुको व्यवस्थापन गर्ने ।
२. शिक्षक नियुक्ति गर्दा सम्वन्धित वडा शिक्षा समितिको सहमतिमा छनोट तथा निर्णय गर्ने ।
३. स्वास्थ्य कर्मचारीहरुको नियुक्ति सरुवा तथा व्यवस्थापन गर्दा कर्मचारीको दक्षता र योग्यताको आधारमा जिम्मेवारी प्रदान गर्ने र सो को जानकारी सम्वन्धित वडा कार्यालयलाई दिनु पर्ने ।
४. नगरपालिकाको नीति तथा कार्यक्रम निर्माण विषयगत समितिका सम्पूर्ण नीति योजना तथा कार्यक्रमहरुलाई ब्रेकडाउन गरी सवै वडामा समानुपातिक हिसावले विनियोजन गर्नु पर्ने ।
५. वडामा संचालन हुने जुनसुकै योजना तथा कार्यक्रमहरु वडाको सिफारिसमा भएका माग निवेदनलाई मात्र नगरले सम्वोधन गर्नु पर्ने ।
६.वडाको सवै उपभोक्ता समितिहरु गठन गर्दा वडा समितिको रोहवरमा सर्वपक्षिय भेला अनिवार्य गर्ने ।
७. योजना र कार्यक्रम संग जोडिएका मात्र कार्यक्रम तालिम गोष्ठी गर्नु पर्ने ।
८. एकै व्यक्तिलाई धेरैवटा सिपमुलक तालिमहरुमा सहभागी गर्न नहुने ।
९. विकास योजनाहरुको अनुगमन तथा मुल्याँकन कार्यलाई एकाद्वार प्रणालीवाट गरिनु पर्ने ।
१०. एउटा परियोजनामा- दोहोरो निकायको वजेट विनियोजन हुनु नहुने, अत्यावश्यक परियोजनामा सपोर्ट वजेट रहेको भए छुट्टा छुट्टै हरहिसाव र पारदर्शी मुल्याँकन हुनु पर्ने ।
११. अनुगमन समितिवाट आएका रिपोर्टको आधारमा मात्र परियोजनामा पुनः वजेट वितरण गर्नु पर्ने र अनियमितता भएमा सम्वन्धित पक्षले सोधभर्ना गर्ने कार्यलाई कडाइका साथ कार्यान्वयन गर्नु पर्ने ।
१२. सामाजिक सुरक्षा भत्ता, जेष्ठ नागरिक तथा अशक्तहरुलाई सम्वन्धित वडामै बैंकिङ प्रणाली मार्फत वितरण गर्ने व्यवस्था मिलाउने ।
१३. नगरपालिकामा आवश्यक सामाग्री खरिद, यान्त्रीकरण तथा मर्मत संभार कार्य गर्दा इ टेन्डर प्रक्रिया साथै यस्ता कृषि सामाग्री वितरण कार्य समानतापूर्ण हुनु पर्ने ।
१४. शाखा प्रमुखहरु नियुक्ति गर्दा योग्यता क्षमता र विधि सम्वत रुपमा कार्यान्वयन गर्नु पर्ने ।
१५. महालेखा परिक्षकवाट प्राप्त आन्तरिक लेखा परिक्षण प्रतिवेदनमा उल्लिखत सिं.नं. ७३ र ७६ लाई तत्काल कार्यान्वयन गर्नु पर्ने साथै अन्य सुझावहरुलाई पनि कार्यान्वयन गर्न कार्यपालिकाले निर्णय गर्नु पर्ने ।
१६. विषयगत शाखाका शाखा प्रमुखहरुको नाममा भएका वेरुजुको वेरुजुको वारेमा कार्यपालिकामा छलफल गरी वेरुजु फटछ्यौट गर्ने कार्य तत्काल कार्यान्वयन गर्नु पर्ने।