सिन्धुपाल्चोक ।गत राति भएको आईसीसी ट्वान्टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको नेपाल र नेदरल्यान्ड्सबीच खेल हेर्न सिन्धुपाल्चोकको चौतारामा दर्शकको ओइरो लागेको थियो । चौताराको नवलपुर जाने चोकमा ठूलो स्क्रिनमा खेल देखाईने प्रवन्ध गरेपछि दर्शक उर्लिएका हुन् ।
टि२० विश्वकपमा १० वर्षपछि छनोट भएको नेपालको खेल हेर्न उल्लेख्य दर्शक आएका हुन् । प्रत्यक्ष प्रसारण गरिएपछि दर्शक खेलमा झुम्मिरहेका देखिन्थ्यो ।
दर्शकलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीहरुसमेत खटिएका थिए ।
मंगलबार राति भएको आइसिसी टी–२० विश्वकपअन्तर्गत खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको मध्यम योगफल बनाएको थियो । कप्तान रोहितले ३७ बलमा ३५ रन बनाए । करण केसीले १२ बलमा दुई छक्काको सहयोगमा १७ तथा गुल्सन झाले १५ बलमा एक छक्कासहित १४ रन जोडे ।
प्रत्युत्तरमा नेदरल्यान्ड्सले १८.४ ओभरमा चार विकेटको क्षतिमा १०९ रन जोड्दै जित निकाल्यो । नेदरल्यान्ड्सको जितमा म्याक्स ओ डाउडले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरी ५४ रनको योगदान गरे । उनले बास डी लिडेसँग पाँचौँ विकेटका लागि २० बलमा २९ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाएका हुन ।
तस्बिर : हाम्रो चाैतारा फेसबुक पेजबाट