मेलम्ची । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले तालिम, गोष्ठी जस्ता कार्यक्रम भन्दा पनि आयआर्जनसंग सम्बन्धित काममा लाग्न आग्रह गरेका छन् । नगरपालिका स्तरीय दलित साझा सञ्जाल मेलम्चीको आयोजना तथा मेलम्ची नगरपालिकाको सहयोगमा आयोजित २ दिने दलित हक र अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रमको शनिबार मेलम्चीमा उद्घाटन गर्दै प्रमुख अतिथि तामाङले सिपमुलक तालिम लिएर आय —आर्जनका काममा लाग्नेलाई नगरले सहयोग गर्ने बताए ।
हरेक वडा सदस्य तथा कार्यपालिकामा रहेका सदस्यहरुले दलित अधिकारका लागि के के गरे, योजनाहरुको लागि कति प्रयत्न गरेको छ चासो राख्नु पर्नेमा समेत उनले जोड दिए । आगामी दिनमा दलित हक अधिकार तथा विकास निर्माणका कार्यको बारेमा जनप्रतिनिधिले ध्यान दिनुपर्नेमा जोड दिएउ । उनले आगामी बर्ष आय आर्जन वृद्धि तथा अन्य उपयोगी कार्यक्रम ल्याएमा दलितका लागि बजेट थप गर्ने प्रतिवद्धता जनाए ।
उनले अहिलेको समयमा छुवाछुतको कुरा गर्न नहुने बताउँदै दुर्वव्यहार गर्नेलाई कानुनी कारबाही हुने बताए । कार्यक्रममा मेलम्चीका दलित वडा सदस्य, कार्यपालिका सदस्य ,दलित अगुवा लगायत ५० जना रहेको आयोजका सचिव टीकाबहादुर विश्वकर्माले जानकारी दिए ।
अभिमुखिकरण कार्यक्रमको सहजीकरण राजु विक र उमेश विश्वकर्माले गर्नेछन्।दलित अधिकार, दलित सम्बन्धी कानुनी कुरा, नेतृत्व विकासका लागि गर्नुपर्ने काम लगायत विषयमा जानकारी गराइने प्रशिक्षक राजु विकले जानकारी दिए। कार्यक्रममा कार्यपालिका सदस्य दिलबहादुर नेपाली, रेडियो मेलम्चीका श्टेसन म्यानेजर देवराज सुवेदी लगायतले दलितका हक अधिकार लगायत बिषयमा जानकारी गराए । औपचारीक कार्यक्रम सञ्जालका अध्यक्ष हरिबहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको हो ।