सिन्धुपाल्चोक । जिल्लाको चौतारामा रहेको चौतारा अस्पतालले फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले जनशक्ति व्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने भएपछि अस्पतालले फिजियोथेरापी सेवा पुनः सुचारु गरिएको हो ।
२०७२ को विनासकारी भुकम्पपछि ह्याण्डीक्याप इन्टरनेशनलको सहयोगमा सञ्चालनमा रहेको सेवा बीचमा रोकिएको थियो ।
शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले फिजियोथेरापी सेवाको उद्घाटन गरेका हुन् । सो सेवाप्रदानको लागि अस्पतालले अञ्जना गुरुङलाई फिजियोथेरापी सहायकको रुपमा केही दिनअघि मात्र नियुक्त गरेको थियो ।
विशेष गरी फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदा नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेसम्बन्धी रोगको उपचार अस्पतालका हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. विजयकुमार साहले वताए । उनका अनुसार हाडजोर्नी, नशा तथा मांशपेशीका विरामीहरुलाई फिजीयोथेरापी प्रभावकारी हुनेछ ।
चौतारा अस्पतालले हाल बिरामीको उपचारका लागि अस्पतालमा सहज प्रणाली लागू गरिएको छ । ज्येष्ठ नागरिक, सुत्केरी, बालबालिका, अपांग–असहाय र जटिल रोगका बिरामीलाई सहज रुपमा सेवा दिनको लागि सामाजिक सेवा एकाईको स्थापना गरी सेवा दिने व्यवस्था मिलाइएको छ । विशेषज्ञ डाक्टरसहित १३ चिकित्सक कार्यरत रहेकाले बिरामीले सहजै उपचार सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले वताए ।
उक्त कार्यक्रममा नगरप्रमुख सापकोटाले फिजियोथेरापी संगै सिंगो अस्पतालले दिने सेवामा पनि गुणस्तरमा बृद्धि गर्न अस्पताललाई आग्रह गरे । उनले भने “हामीहरुको चाहना भनेको समस्यामा परेका बिमारीहरुले समयमा नै सेवा लिन सकुन् भन्ने हो ।” नगरप्रमुखले फिजियो संगै आयुर्बेद सेवालाईपनि संगै जोडेर लैजान सके झनै प्रवाहकारी हुने धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा चौतारा सँगाचोकगढी नगरपालि वडा नं. ५ का वडा अध्यक्ष शिव श्रेष्ठले विगतमा चौतारा अस्पतालले दिएको फिजियोथेरापी सेवा प्रभावकारी रहेको भन्दै आगमी दिनमा समेत यसको महत्वलाई समुदायस्तरसम्म पु¥याउन अस्पताललाई आग्रह गरे ।
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका कार्यलय प्रमुख दुर्गा बजगाईले समुदाय स्तरमा रहेको बिमारीहरुलाई अस्पतालसम्म ल्याउने र सेवादिएपछि घरसम्म पुर्याउनको लागि विविध समस्याहरु आईरहेकोले उक्त समस्या पार लगाउन स्थानीय सरकारको भूमिका रहनुपर्ने भनि नगरप्रमुखको ध्यानकर्षण गराइकी थिइन् ।
चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले प्रदेशकै नमुना अस्पताल बनाउने अभिप्रायकासाथ हामी लागिपरेको भन्दै यसमा सवैको साथ र सहयोग आवश्यक रहेको सुनाए । उनले अव छिट्टै डाइलासिस सेवा पनि सञ्चालनमा ल्याउन लागिरहेको समेत जनाकारी गराए ।
कार्यक्रमका सभापति तथा अस्पताल संचालन तथा विकास समितिका अध्यक्ष टंक बहादुर कार्कीले अस्पतालको विकासका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले चीन सरकारको सहयोगमा निर्मित सुविधा सम्पन्न भवनबाट छिट्टै नै सेवा दिनेगरि लागिपरेको बताए ।