चौतारा । सदरमुकाम चौतारास्थित निर्माणाधिन मिनीरंगशालाको काममा लापरवाही गरेकामा ठेकेदार कम्पनीले १० लाख रुपियाँ क्षतिपूर्ति तिरेको छ। पटकपटक म्याद थप्दा समेत सम्झौता अवधिमा काम नगरेको भन्दै उसलाई सो जरिवाना तिराइएको हो ।
सो कम्पनीले राखेको धरौटी रकमबाट जरिवाना भराइएको थियो । प्रदेश गौरवको आयोजनाका रुपमा पाँच बर्ष अघि निर्माण सुरु गरिएको टुँडिखेल मिनीरंगशाला अघिल्लो बर्ष चैत्रमा काम सक्नुपर्ने समय थियो । तर ठेकेदार कम्पनी गीरी कन्ट्रक्शन निर्माण सेवाले काम सम्पन्न गर्ने जिम्मा लिएको अवधिमा काम पुरा नगरी अहिलेसम्म अलपत्र जस्तै छ ।
थोरै संख्यामा काम गरेजस्तो मात्रै छ । कतिपय कामदारले ज्याला नपाएको भन्दै काम छाडेका हिँड्ने गरेका छन् ।रंगशाला नबन्दा खेल गतिविधि गर्न समेत समस्या परेको छ । अलपत्र रंगशालाको अवलोकन गरेपछि सोमवार वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलले टेलिफोन गरी तत्काल काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । उनले समयमै गुणस्तरिय काम गर्न नसके ठेक्का तोडेर अर्कैलाई काम दिन भनेका छन् ।
साथै प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यलाई काम चाँडो गराउन पहल गर्न निर्देशन दिएका थिए । चौतारा स्पोर्टिङ क्लबका सचिव राकेश रानाले खेल मैदान समयमै नबन्दा खेलकुदका गतिविधि गर्न समस्या परेको गुनासो गरे ।त्यस अवसरमा प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोध र प्रदेशसभा सदस्य अमृता नेपाल,चौताराका मेयर कृष्णप्रसाद सापकोटा,चौताराका नगर सल्लाहकार चन्द्रप्रसाद सापकोटा रबीलगायत सहभागी थिए । उनीहरुले रंगशालाको वस्तुस्थितीबारे मुख्यमन्त्री जमकटेललाई ब्रिफिङ गरेका थिए ।