रसुवा बाढी : उद्धार र राहतका लागि त्रिपुरासुन्दरीले २० लाख सहयोग गर्ने

रसुवा बाढी : उद्धार र राहतका लागि त्रिपुरासुन्दरीले २० लाख सहयोग गर्ने

फरक पत्रिका

मंगलबार, भाद्र १६ २०८३

रसुवा बाढी : उद्धार र राहतका लागि त्रिपुरासुन्दरीले २० लाख सहयोग गर्ने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले रसुवा बाढीपीडितका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । विनाशकारी बाढीबाट प्रभावितको उद्धार र राहतका लागि गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।
सहयोगमा जनप्रतिनिधिको १५ दिनबराबरको सेवा–सुविधा तथा गाउँपालिकाअन्तर्गत कार्यरत शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीको पारिश्रमिकबाट स्वेच्छिक रूपमा रकम संकलन गरिने गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले बताए ।
भोटेकोशी बाढीपछि सिन्धुपाल्चोकका २ सय ३४ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले उपलब्ध गराएको विवरणअनुसार १२ स्थानीय तहमध्ये दुईबाहेक सबै स्थानीय तहका नागरिक सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीनमध्ये सबैभन्दा बढी भोटेकोशी गाउँपालिकाका रहेका छन् । भोटेकोशी गाउँपालिका–१ लिस्तीका वडाध्यक्ष राजु लामा पनि बाढीपछि सम्पर्कविहीन छन् । उनीसँगै उक्त वडाका २० जना सम्पर्कविहीन रहेको जनाइएको छ । भोटेकोशी गाउँपालिका–२ बाट मात्रै २७ जना सम्पर्कविहीन भएका छन् ।

भोटेकोशी–२ का कुमार श्रेष्ठका अनुसार व्यापारमा संलग्न व्यक्ति, कन्टेनरका कर्मचारी तथा कैलाश मानसरोवर जाने पर्यटकका लागि ट्राभल एजेन्सी सञ्चालन गर्नेहरू पनि सम्पर्कविहीन भएका छन् । पछिल्लो विवरणअनुसार लिसंखुपाखर गाउँपालिकाका ३, हेलम्बु गाउँपालिकाका ४ र त्रिपुरासुन्दरी गाउँपालिकाका ६ जना सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा रहेका तथा रसुवाका विभिन्न स्थानमा पुगेका सिन्धुपाल्चोकवासीसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित