सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई बाह्रबिसे नगरपालिकाले राहतस्वरुप नगद प्रदान गर्ने भएको छ । रसुवा बाढीमा ६० जना बेपत्ता छन् भने एक जनाको मृत्यु पुष्टि भएको छ । बाह्रविसे नगरपालिका नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उनीहरुको परिवारलाई नगरपालिकाले राहतस्वरुप नगद प्रदान गर्न लागेको हो ।
नगरपालिकाका अनुसार हरेक परिवारलाई एक् लाख १५ हजार रुपैयाँका दरले नगद प्रदान गरिन लागिएको हो । बेपत्ता तथा मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले प्रतिपरिवार एक लाख १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको मेयर बालकृष्ण बस्नेतले बताए।
बाढीमा बेपत्ता हुनेहरू रोजगारीको सिलसिलामा रसुवा पुगेका बाह्रबिसे नगरपालिकाका नागरिक रहेको नगरपालिकाका मेयर बालकृष्ण बस्नेतको भनाइ छ। उनीहरू बेपत्ता भएपछि कतिपय परिवारमा घरको मुख्य आम्दानी गर्ने व्यक्ति नभएकाले परिवारको अवस्था थप कठिन बनेको उनले बताए।
नगरपालिका आफ्ना बेपत्ता नागरिकको खोज तथा उद्धारमा समेत निरन्तर खटिरहेको उनले बताए। सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी बाढी र पहिरो प्रभावित क्षेत्रमा खोजी भइरहेको छ ।
बाढीका कारण परिवारका सदस्य बेपत्ता भएपछि उनीहरूको अवस्था बुझ्न र उद्धारको पर्खाइमा रहेका परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउनु चुनौती बनेको छ। नगरपालिकाले बेपत्ता नागरिकको खोजीलाई प्राथमिकतामा राख्दै राहत वितरण र परिवारको आवश्यक सहयोगका लागि समेत काम अघि बढाएको जनाएको छ।