काठमाडौ । कोटेश्वर र जडिबुटी क्षेत्रमा यात्रुलाई हैरानी दिएको आरोपमा सिन्धुपाल्चोकका दुईसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन प्रयोग गरी उपत्यका बाहिर जाने यात्रुहरूलाई दुःख हैरानी दिने कार्यमा संलग्न १० जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ का सुरेश तामाङ्, जिल्ला सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका ४ का राजेश सापकोटासहित १० जना रहेका छन् । प्रहरीकाअनुसार धनुषा छिरेश्वरनाथ नगरपालिका ५ का सुर्य बहादुर देवकोटा, दोलखा भिमेश्वर नगरपालिका १ का प्रकाश सिवाकोटी, भक्तपुर चागुनारायण नगरपालिका ९ का हरी भजन थापा, दोलखा बैदेश्वर गाउँपालिका ४ का डिल्ली प्रसाद लामिछानेरहेका छन् । त्यस्तै सिन्धुली गोलञ्जोर गाउँपालिका २ का तिलक कुमार थापा, दोलखा भिमेश्वर नगरपालिका ८ का खड्क बहादुर तामाङ्, सिन्धुली सुनकोसी गाउँपालिका ४ का डोर कुमार श्रेष्ठ र ओखलढुंगा लिखु गाउँपालिका ७ का नन्द लाल बुढाथोकी रहेका छन्।
सार्वजनिक गुनासोका आधारमा जिल्ला काठमाडौं ३२ कोटेश्वर र जडिबुटी क्षेत्रमा खटिएको प्रहरी टोलीले काउन्टर सञ्चालन गर्ने कर्मचारी, सवारी चालक तथा सह–चालकसँग सम्बन्धित केही व्यक्तिहरूले यात्रु तान्ने, यात्रुको झोला खोस्ने तथा अनावश्यक दुःख हैरानी दिने कार्य गरेको फेला पारेको थियो।
उक्त कार्यमा संलग्न १० जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा थप कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ।