मेलम्चीमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

मेलम्चीमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

फरक पत्रिका

बुधबार, बैशाख १६ २०८३

मेलम्चीमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ सिम्लेमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सिम्लेस्थित मेलम्ची-जिरो किलो सडक खण्डमा भएको दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार इन्द्रावती गाउँपालिका-१२ का ४० वर्षीय कुमार दनुवार रहेका छन्।

वाग्मती प्रदेश प्रहरीका अनुसार वैशाख १५ गते साँझ साढे ५ बजेतिर सिपाघाटबाट मेलम्चीतर्फ आउँदै गरेको बा.प्र।.०१-क ६५०६ नम्बरको टिपर र विपरीत दिशाबाट जाँदै गरेको बा ३८ प २०१६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा परी मोटरसाइकलको पछाडि बसेका कुमार दनुवारको कम्मरमा गम्भीर भित्री चोट लागेको थियो। घाइते अवस्थामा बोल्न सक्ने नै रहेका उनलाई तत्काल उद्धार गरी नगर अस्पताल मेलम्चीमा पुर्याइएको थियो।

त्यहाँ प्रारम्भिक उपचारपश्चात् थप उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारकै क्रममा राति ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

उक्त मोटरसाइकल मेलम्ची नगरपालिका-११ का ३३ वर्षीय मान बहादुर दनुवारले चलाएका थिए। दुर्घटनामा मोटरसाइकलको अगाडिको भाग पूर्ण रूपमा क्षति भएर चल्न नसक्ने अवस्थामा पुगेको छ।

दुर्घटनालगत्तै बाहुनेपाटी प्रहरी पोस्टबाट प्रहरी सहायक निरीक्षक भगवान खरेलको कमाण्डमा ट्राफिकसहितको टोली घटनास्थल पुगेको थियो।

ठक्कर दिने टिपर, त्यसका चालक नुवाकोटको ककनी गाउँपालिका-१ का २६ वर्षीय ज्ञान बहादुर पुतवार र दुर्घटनाग्रस्त मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मेलम्चीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित