इन्द्रावतीले निलेको निर्जला थिइन् आमाविहीन, बुवा हराएपछि स्याहार्थिन् फूपूले

इन्द्रावतीले निलेको निर्जला थिइन् आमाविहीन, बुवा हराएपछि स्याहार्थिन् फूपूले

फरक पत्रिका

मंगलबार, बैशाख १५ २०८३

इन्द्रावतीले निलेको निर्जला थिइन् आमाविहीन,  बुवा हराएपछि स्याहार्थिन् फूपूले

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची गाउँपालिका–११ स्थित इन्द्रावती खोलाले सोमबार नुहाउने क्रममा दुई किशोरीलाई बगायो । बगेका दुई किशोरीमध्ये एक जनाको शव फेला परेको छ भने अर्की किशोरी अझै बेपत्ता छिन् ।
प्रहरीकाअनुसार मेलम्ची ९ कि १८ वर्षीया निर्जला गिरी मृत अवस्थामा फेला परेकी हुन् भने अर्की किशोरी पाँचपोखरी थाङपाल गाउँपालिका–६ की १४ वर्षीया अन्जिता जोती भने अझै फेला परेकी छैनन्।
मृत भेटिएकी निर्जला मामाको छोरी हुन् भने बेपत्ता अन्जिता फूपूको छोरी हुन्। निर्जला सानैदेखि आफ्नो फूपूसँगै बस्दै आएकी थिइन्। उनी ३ वर्षको हुँदा आमाको मृत्यु भएको थियो भने केही वर्षपछि बावु पनि बेपत्ता भए । अभिभावकविहीन भएपछि निर्जलालाई फूपूले स्याहार्दै आएकी थिइन्।
वाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार खोलाले बगाएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी निरीक्षक योगेश खरेलको कमाण्डमा ७ जनाको टोली तत्काल खटिएको थियो।
खोज तथा उद्धारका क्रममा घटनास्थलबाट करिब १ किलोमिटर तल खोलाको किनारमा निर्जला गिरी मृत अवस्थामा फेला परेकी हुन्। अहिले उनको शव पोस्टमार्टमका लागि मेलम्ची नगर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
काठमाडौँमा नै बसेर पढ्दै आएका उनीहरु नागरिकता बनाउनको लागि सिन्धुपाल्चोक आएका थिए। अन्जिता र निर्जला दुवैजनाको नागरिकता बनाउनका लागि अन्जिताका बुवाले गाउँ ल्याएका थिए।
बेपत्ता किशोरीको खोजीका लागि मंगलबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा परिचालित भई खोज तथा उद्धार कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित