सिन्धुपाल्चोक । ३९ जनाको ज्यान जाने गरि गएको लिदीको पहिरोमा परी मृत्यु भएकाको सम्झनामा छ्र्याेतेन(स्तुपा) निर्माण हुने भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ लिदीमा २०७७ साल साउन ३० गतेको विनाशकारी पहिरोमा ज्यान गुमाएका ३९ स्थानीयको स्मृतिमा बन्ने स्तुपाको शिलान्यास गरिएको हो ।

पहिरोमा पहिरोमा ३९ जना बेपत्ता भएका थिए । खोजी गर्दै जाँदा ३७ जनाको शव भेटियो, दुई जना सधैँका लागि हराए। कतिपय परिवारका सबै सदस्य गुमे, कतिपयको वंश नै समाप्त भयो। सिंगो गाउँ नै पहिरोको चपेटामा परेर भएको अपूरणीय क्षतिको सम्झना र मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न यो स्मारक बनाउन लागिएको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए । ३९ फिटकै बन्ने स्तुपाको जुगलका अध्यक्ष रेशम स्याङ्बोले शिलान्यास गरेका हुन् । अहिले स्तुपा निर्माण भइरहेको छ ।
बस्ती माथिबाट आएको पहिरोले पुर्दा सिंगो गाउँ विलय भएको थियो । पहिरोपछि विस्थापित भएका १७२ परिवार हाल बाँसखर्क, बराम्ची र चौतारामा छरिएर बसोबास गरिरहेका छन् भने केही अझै पनि आफ्नो पुरानो थातथलो छोड्न नसकी बसिरहेका छन्।
पहिरो जानुअघि नै स्थानीयले जोखिम महसुस गरी बस्ती स्थानान्तरणका लागि प्रशासनलाई निवेदन दिए पनि समयमै सुनुवाइ हुन नसक्दा यो ठूलो मानवीय क्षति हुन पुगेको पीडितको आरोप छ ।
पहिल्यै जीवन रक्षाको अपिल मागेका थिए लिदीवासीले
२०७६ मंसिरमा जिल्लाको विकट हिमाली गाउँ जुगल गाउँपालिका २ लिदीका बासिन्दाहरुले जिल्ला प्रशासन कार्यालयमा एउटा माग राखे– ‘हामी पहिरोको जोखिममा छौं, बस्ती जोखिमबारे विज्ञहरुबाट अध्ययन गरियोस् ।’
ढल्केका अनि चर्केका घर, धाँजा फाटेका जमिनहरुको फोटोसहित तत्कालीन प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङलाई उनीहरुले ध्यानाकर्षण बुझाए । उनीहरुको दावी थियो– ‘गाउँभन्दा मुनी पर्ने बराम्ची खोलामा बन्दै गरेको अपर बलेफी ‘ए’ हाइड्रोपावरले सुरुङ खन्दा जमिन हल्लियो अनि हाम्रो गाउँ पहिरोको जोखिममा पर्यो ।’
नभन्दै पहिरो ३० गते गयो । जाने कतै ठाउँ छैन, पहिराले बस्ती नै उच्च जोखिममा परेपछि लिदीबासी सरकारले केही गर्ला भन्ने आसामा बस्दा बस्दा साउन ३० गते बिहान माथिबाट ठूलो पहिरो आयो, ३९ जनाले आफ्नो ज्यान गुमाए कतिले आफन्त ।
शुक्रबार विहान ६ ः ४० को समयमा बस्तीभन्दा करिब ४ सय मिटर माथिबाट पहिरो आयो । ३९ बेपत्ता भए । पछि ३७ को शव भेटिएको थियो । सभामुख, साँसद, गाउँपालिका अध्यक्ष, सिडियोलगयत केही नेताहरु उद्धार गर्ने भन्दै घटनास्थल पुगे । पहिले बस्ती हेरिदिनुभन्दा वास्ता नगरेका नेताहरु पहिरो जानासाथ घटनास्थल पुगेपछि स्थानीयले आक्रोस पोखेका थिए ।
सुरुमा ज्ञापनपत्र बुझाउँदा तत्कालीन प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले हाइड्रोपावरसँग समन्वय गरेर बस्ती हेर्नेसमेत स्थानीय नेत्र तामाङले हामीलाई पहिरोपछिको भेटमा स्थानीय सञ्चारकर्मीसँग ३१ साउनमा बताएका थिए । ‘त्यतिबेला सिडियो सापले थप पहल के गर्नुभयो भन्नेबारे हामीलाई जानकारी छैन,’ उनले भनेका थिए, ‘हाइड्रोपावरले पनि केही गरेन ।’ उनले सञ्चारकर्मीसँग गुनासो पोखेका थिए ३१ साउनमा कि ‘उहाँहरुले नै गर्दा हामीले यो दिन भोग्नुपरेको हो ।’
उसै त विकट । पहाड मुनीको गाउँ । भूकम्पले यसअघि नै जमिन हल्लाएपछि राष्ट्रिय पुनर्निमाण प्राधिकरणले लिदी गाउँलाई बस्न अयोग्य घोषणा गरेको थियो । अन्य वैकल्पिक स्थान नभएकाले गाउँवासी पुरानै थातथलोमा बस्दै आएका थिए ।
अघिल्लो मंसिरमा बुझाएको ध्यानाकर्षणको कुनै समाधानको पहल नभएपछि र गाउँमा अविरल वर्षाका कारण जमिन थप धाँजा फाट्न थालेपछि गएको साउन २३ गते फेरि जिल्ला प्रशासनमा गुहार माग्न आए । हाइड्रोपावरले सुरुङमा ब्लाष्टिङ गरिरहेको र स्थानीयसँग कुनै सल्लाह नगरेकाले आफूहरु जोखिममा रहेको उनीहरुको भनाई थियो । विस्फोटक पदार्थकै कारण जमिन हल्लिएर जोखिम बढेका कारण आफूहरुलाई स्थानान्तरण गर्नुपर्ने भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसमक्ष फेरि ज्ञापन पत्र बुझाएका थिए ।
जिल्ला प्रशासन कार्यालयले २०७७ साउन २३ मा भू तथा जलाधार व्यवस्थापन कार्यालयमा जोखिम बस्तीको अध्ययन गरिआवश्यक प्रक्रिया अगाडि बढाउन निवेदन पठाएको थियो ।
असार २६ गतेको ठूलो वर्षाले पहिरो जाने, जमिन चिरा परेर फाटेको थियो । माथिबाट पहिरो र तलबाट जमिन भास्सिन थालेपछि नाम्फा र लिदिको १ सय ४९ घर पहिरो संगै बग्छ भन्ने आशंका स्थानीयले गरेका थिए ।
पहिरो खस्न ठिक्क परेको बडेमानका ढुंगा, धाजाँ परेर चिरिएको जमिनले बस्ती जोखिममा परेपछि समस्या लिएर गाउँवासी स्थानीय तह, प्रशासन सबैतिर धाएका थिए । उनीहरुको माग आफ्नो गाउँ जोखिममा रहको बारे अध्ययन गरेर आवश्यक परे स्थानान्तरणका लागि पहल गरिदिने मात्रै थियो । तर, तत्काल कुनै सरोकारवाला निकायबाट समस्या समाधानका लागि पहल भएन । ‘प्रशासन कार्यालयले हेर्छु हेर्छु भने आश्वासन मात्रै दियो,’ अर्का स्थानीय निमा लामाले भनेका थिए, ‘स्थानीय प्रशासन र सरोकारवाला निकायको लापरवाहीले ामीलाई सतायो ।’
यो प्रक्रियाबाट ढिलाई हुने या वेवास्ता भएपछि गाउँवासी स्थानीय सामुदायिक रेडियो रेडियो सिन्धुमा आफ्नो समस्या सुनाउन पुगेका थिए । लिदीबासीको समस्यालाई विषय उठान गरेर रेडियोले त्यतिबेला कार्यक्रम गरेपछि जिल्ला विपद ब्यवस्थापन समिति संयोजक एव प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल संग रेडियोमा उनीहरुले समस्याको ब्यवस्थापन गर्न आग्रह समेत गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी ढकालले प्रहरी, वडा र पालिकासंग समन्वय गरेर तत्काललाई त्रिपाल कम्वल दिएर झारो टार्ने काम त्यतिखेर भयो । राहत नभई आफूहरुको सुरक्षा खोजेका स्थानीयलाई कम्बल दिने भनेपछि अब यस्तो समस्या लिएर नआउनुसमेत प्रमुख जिल्ला अधिकारीले भनेका थिए । प्रमुख जिल्ला अधिकारीको यस्तो अभिव्यक्तिबाट निराश भएका लिदिवासी पहिरो संगै गाउँ बग्ने डरमा रहेका दिर्घकालीन ब्यवस्थापनको लागि सरकारसंग गुहार मागिरहेका थिए ।
जुगल गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी, सांसद, नेता सबैतिर एक महिनाको बीचमा आफ्ना समस्या सुनाउन उनीहरुले चक्कर काटिरहे । स्थानीय दिनभरी घरमा र राति त्रिपालले बारेर बनाएको सुरक्षित ठाउँमा ज्यान जोेगाउन जाने गरेका थिए । भगवान भरोसामै बसिरहेका लिदिका स्थानीय ठुलो पानी पर्दा पहिरोमै ज्यान जान्छ कि भनि निदाउन समेत सकेका थिएनन् ।
पछि स्थानान्तरणका लागि निक्कै पहल भएको सरोकारवालाहरुबाट आश्वासन आयो तर, अहिले पनि समस्या ज्यूँका त्यूँ जस्तै छ ।