कोदारीसहित खुले यी राजमार्ग, केही अझै अवरुद्ध

कोदारीसहित खुले यी राजमार्ग, केही अझै अवरुद्ध

फरक पत्रिका

बुधबार, बैशाख २३ २०८३

कोदारीसहित खुले यी राजमार्ग, केही अझै अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् ।
सोमबार साँझको वर्षासँगैको पहिराका कारण अवरुद्ध भएको ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ सडकखण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्रि सडकखण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग, मकवानपुर भिमफेदी गाउँपालिका–८ भ¥याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायात सुरु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनले भने, ‘वर्षासँगैको पहिराका कारण अवरुद्ध भएका केही राजमार्ग मङ्गलबार साँझदेखि केही पूर्णरुपमा सञ्चालनमा आएका छन् । भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालन भएका छन् ।’

यसैगरी इलामस्थित इलाम रोङ गाउँपालिका–६ सलकपुर डखेप हुँदै झापा जाने भित्रि कच्ची सडक, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ घुमाउने ४ सय बेँसीस्थित बीपी राजमार्ग सडकखण्ड तथा लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्य पहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी चल्ने सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रवक्ता काफ्लेले बताए । वर्षातको समयमा बाढी पहिराको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवम् सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित