सिन्धुपाल्चोक । पञ्चायतकालदेखि नै चुनावी मैदानमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शमसेर राणा आउँदो फागुन २१ मा हुने निर्वाचनमा उम्मेदवार बनेनन् ।
पार्टीले जिल्लाबाट उनको नाम सिफारिस नगरेको हैन तर, उनले यसपटक इच्चा नै जाहेर गरेनन् । सिफारिसपछि भने उनी उम्मेदवार बन्छन् या बन्दैनन् सिन्धुपाल्चोकबासीबीच चर्चाको विषय बनेको थियो । तर उम्मेदवारी दर्तामा उम्मेदवारको नाममा अर्कै पात्रको दर्ता भएपछि अहिले अर्काे प्रश्न चर्चा छ कि नाति जर्नेल (पशुपति शमसेर राणा)को संसदीय यात्रामा ब्रेक लागेको हो ?
उसो त पार्टीको बैठकमा उनी नियमित उपस्थित हुन्छन् । पार्टीप्रति सद्भाव छ । प्रेम छ उनमा । त्यो यो उमेरमा पनि पार्टीका क्रियाकलापमा नियमित देखिनुले पुष्टि गर्छ । तर संसदमा भने चाख उनमा घटेको देखियो ।
राणा उम्मेदवार हुने क्षेत्र सिन्धुपाल्चोकका प्रतिनिधिसभाको क्षेत्र नं. २ हो । यो क्षेत्रमा मात्रै नभई सिंगो सिन्धुपाल्चोकमा राणाको राम्रो छवि छ । झनै क्षेत्र नं. २ मा राप्रपा बलियो छ । त्यसैले पनि पशुपति आफै चुनावी मैदानमा उत्रिँदा विपक्षीका लागि टाउको दुखाइको विषय बन्ने गरेको छ । तर यसपटक राणाले संसद चाहेनन् । उनी यसपटक समानुपातिक सूचीमासमेत छैनन् ।
२०३८ सालदेखि अहिलेसम्मका सबै चुनावमा उनी उम्मेदवार बनेका छन् । २०३८ देखि एक छत्र जनताका प्रतिनिधि बनेका राणाले पहिलोपटक २०६४ को निर्वाचनमा हार ब्यहोरे । त्यसपछिका सबै संघीय चुनावमा उनले हारको ‘ह्याट्रिक’ गरे । यो हिसाबले उनी संसदीय यात्राको थालनी गरेको ४४ वर्ष हुन आउँछ ।
जन्मँदै नाति जर्नेलको पदवी पाएका उनले यो चुनावमा उम्मेदवार नभएर राजनीतिक भविष्य लगभग सकाएको आँकलन छ । उमेर साढे आठ दसक पुगेका उनले यो चुनावमा पनि भाग नलिएपछि अब संसदीय यात्रामा फर्कने सम्भावना कम भएको राजनीतिक विष्लेषकहरुको ठम्माइ छ ।
जिल्लामा विकासप्रेमी नेताको छवि बनाएका उनी पहिलो संविधानसभा निर्वाचनमा तेस्रो भए । त्यतिबेला माओवादीका दावा तामाङ विजयी भए । २०७० को संविधानसभा निर्वाचनमा एमालेका शेरबहादुर तामाङले राणालाई हराए । उनलाई बाम गठबन्धनबाट उम्मेदवार बनेका तामाङले हराएका थिए । त्यसपछिको चुनावमा कांग्रेसको साथ पाएर पनि राणा चुके ।
पहिले तीन वटा क्षेत्र भएको सिन्धुपाल्चोकमा अहिले दुई क्षेत्र छ । अहिले पुरानो क्षेत्रमा केही गाउँ थपिएको छ । हालको इन्द्रावती गाउँपालिका र चौतारासाँगाचोकगढी नगरपालिकाको ५ वटा वडा प्रतिनिधि सभा नं. २ मा गाभिएको छ । पछि गाभिएका गाउँमध्ये अधिकांश राणाको भोट बैंक पनि हो । पुरानो क्षेत्र नं. ३ बाट प्रतिष्पर्धा भोट ल्याए भने राणाले मत परिणाममा अरुलाई पछि पार्न सक्ने आंकलन रहँदा पनि राणा चुनावी मैदानमा उत्रिएकाले उनले संसदीय राजनीतिबाटआराम खोजेको अनुमान लगाउन कठिन छैन ।
उसो त यो निर्वाचनमा राणा पराजित भएमा उनको राजनीतिक भविष्य लगभग अन्त्य नै हुने सम्भावना पनि थियो । अबको निर्वाचन परिणाम राणाको पोल्टामा नपरेको उनको राजनीतिक भविष्य संकटमा पर्ने मात्रै नभई राजनीतिको तितो स्वाद लिएर गुमनाम बस्नुको विकल्प हुने थिएन ।
राणा ०३८ सालदेखि चुनावी मैदानमा ओर्लिएका हुन् । उनले यो चुनावमा ३६ हजार ८ सय ४५ मतसहित विजयी बनेका थिए । ०४३ र ४८ को चुनावमा पनि उनै राणा विजयी बने । जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार ०५१ सालको निर्वाचनमा क्षेत्र नं. ३ बाट ११ हजार ७ सय ४४ मत ल्याएर कांग्रेसका कान्छा लामालाई हराउ“दै सांसदमा निर्वाचित भएका थिए । ०५६ सालको चुनावमा १४ हजार ५ सय १२ मत ल्याएर विजयी भए । यो नै उनको अन्तिम विजय थियो । त्यसयताका सबै निर्वाचनमा उनले हार व्यहोरे । गएको निर्वाचनमा भने उनी समानुपातिकमा थिए । पार्टीको पहिलो नम्बरमा समानुपातिक उम्मेदवार बनेका उनले फेरि संसदीय यात्रा थाले अनि ज्येष्ठ सदस्यका रुपमा अध्यक्षता पनि गरे ।