काठमाडौं । सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरूमा कुल ३१ करोड ९२ लाख ४१ हजार रुपैयाँ बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनअनुसार १२ वटा स्थानीय तहमा गरिएको लेखापरीक्षणका क्रममा आर्थिक अनुशासन, खर्च व्यवस्थापन तथा कागजी प्रक्रियामा कमजोरी भेटिएपछि करोडौं रुपैयाँ बेरुजु कायम भएको हो।
जिल्लाका १२ वटा स्थानीय तहमध्ये मेलम्ची नगरपालिकामा सबैभन्दा बढी ८ करोड ३२ लाख ७० हजार रुपैयाँ बेरुजु देखिएको छ। प्रतिशतमा भने सबैभन्दा कम जुगलमा रहेको छ । लेखापरीक्षण गरिएको रकमको तुलनामा बेरुजु रकम हेर्दा वाह्रबिसेको सबैभन्दा बढी ३.०३ प्रतिशत, सुनकोशीको २.३८ प्रतिशत, मेलम्चीको २.२९ प्रतिशत, हेलम्बुको २.२१ प्रतिशत, लिसंखुपाखरको १.६९ प्रतिशत, त्रिपुरासुन्दरीको १.६८ प्रतिशत, चौताराको १.४४ प्रतिशत बेरुजु भेटिएको छ। त्यसपछि बलेफीको ०.९६ प्रतिशत, इन्द्रावतीको ०.५५ प्रतिशत, पाँचपोखरीको ०.४५ प्रतिशत, भोटेकोशीको ०.३४ प्रतिशत र जुगलको सबैभन्दा कम ०.९ प्रतिशत बेरुजु रहेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ।
दोस्रोमा वाह्रबिसे नगरपालिकामा ५ करोड २८ लाख ४८ हजार रुपैयाँ बेरुजु पाइएको छ। तेस्रोमा सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाको ४ करोड १७ लाख ९६ हजार रुपैयाँ बेरुजु कायम भएको प्रतिवेदनमा उल्लेख छ भने चौथोमा सुनकोशी गाउँपालिकाको ३ करोड ७ लाख रुपैयाँ बेरुजु भेटिएको प्रतिवेदनमा उल्लेख छ।
त्यसपछि हेलम्बु गाउँपालिकाको २ करोड ९६ लाख ९४ हजार रुपैयाँ, लिसंखुपाखर गाउँपालिकाको १ करोड ९५ लाख ३७ हजार रुपैयाँ, त्रिपुरासुन्दरी गाउँपालिकाको १ करोड ७२ लाख ५६ हजार रुपैयाँ, बलेफी गाउँपालिकाको १ करोड २३ लाख ९५ हजार रुपैयाँ बेरुजु पाइएको छ। त्यसैगरी जुगल गाउँपालिकाको १ करोड १९ लाख ९ हजार रुपैयाँ, इन्द्रावती गाउँपालिकाको ९६ लाख ४६ हजार रुपैयाँ, पाँचपोखरी थाङपाल गाउँपालिकाको ६५ लाख ४६ हजार रुपैयाँ र भोटेकोशी गाउँपालिकाको सबैभन्दा कम ४७ लाख ३७ हजार रुपैयाँ बेरुजु फेला परेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ।
