काठमाडौं । यही साउन २७ गतेदेखि एन्फा महिला लिग छनोट २०२५ सुरु हुँदैछ । यो छनोटमा सिन्धुपाल्चोक फुटबल क्लबले पनि सहभागिता जनाएको छ ।
उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रिएले भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गर्दै महिला लिग छनोटको खेल तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक खेलतालिका अनुसार साउन २७ गते छहारी र एले बीच एन्फा कम्प्लेक्स, सातदोबाटोमा उद्घाटन खेल हुनेछ । खेल साढे १२ बजे सुरु हुनेछ । सोही दिन दिउँसो ४ बजे एन्फा कम्प्लेक्समै संकटा एफसी र नेपाल खेलकुद क्लबबीच खेल हुनेछ ।
महिला लिग छनोटमा ए डिभिजन क्लब, नेपाल सुपर लिग फ्रेन्चाइज देखि विभिन्न क्लबहरु गरी १४ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा चर्च ब्वाइज युनाइटेड एफसी, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट्स फुटबल क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल र एफसी रिएले छन् ।
यस्तै समूह बी मा एनआरटी, संकटा एफसी, बुटवल लुम्बिनी एफसी, एनबीएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टर, नेपाल खेलकुद क्लब छन् ।
साउन २७ बाट हुने प्रतियोगितामा सिन्धुपाल्चोकले स्टुडेन्ट फुटबल क्लबसँग साउन २९ गते खेल्नेछ । मध्यान्ह साढे १२ बजे सुरु हुने खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
त्यस्तै सिन्धुपाल्चोक एफसीले अर्काे खेल राप्ती फुटबल क्लसँग खेल्नेछ । भदौ २ गते हुने यो खेल एन्फा कम्प्लेक्समा मध्यान्ह साढे १२ बजे सुरु हुने छ ।
आर एस रिसोर्ट एण्ड बीच फुटबलसँग टोलीले अर्काे भीडन्त गर्नेछ । यो खेल भदौ ६ गते एन्फा कम्प्लेक्समै साढे १२ बजे हुने तालिका छ ।
सिन्धुपाल्चोक एफसीले अर्काे खेल चर्च ब्वाइज युनाइटेडसँग भदौ ११ गते र छहारी फुटबल क्लबसँग भदौ १५ गते खेल्नेछ ।
महिला लिग छनोटबाट शीर्ष ५ टिम महिला लिगको अन्तिम चरणका लागि छनोट हुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । ‘छनोटको दुई समूहको शीर्ष २–२ टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । यस्तै दुवै समूहको तेस्रो हुने टिमबीच प्लेअफ खेलाउने रत्यसमा विजयी हुने टिम पनि अन्तिम चरणमा हुनेछ’ उनले भने।
यसअघि महिला लिगको सुपर राउण्डमा खेलेका ५ टिम र छनोटबाट छानिएका ५ गरी १० टिमबीच महिला लिग हुनेछ ।