मौसममा सुधार आएपछि भैरहवा विमानस्थलमा उडान हुन्छः मन्त्री आले

मौसममा सुधार आएपछि भैरहवा विमानस्थलमा उडान हुन्छः मन्त्री आले

फरक पत्रिका

आइतबार, पौस २५ २०७८

मौसममा सुधार आएपछि भैरहवा विमानस्थलमा उडान हुन्छः मन्त्री आले

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने बताएका छन् ।

शनिबार विमानस्थलको अनुगमनका गर्दै उनले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको तुवालो तथा मौसमको खराबी भएका कारण क्यालिब्रेशन फ्लाइट हुन नसकेको बताए ।

मन्त्री आलेले भने,’क्यालीब्रेसन फ्लाइटका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ, मौसममा सुधार भए क्यालिब्रेशन फ्लाइट गर्छौं ।” गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चाँडै उडान सुरु हुने उनको भनाइ छ ।

उक्त विमानस्थलमा जडान गर्नुपर्ने थप नयाँ उपकरण तथा निर्माणका क्रममा रहेका भौतिक संरचना चाँडो निर्माण सम्पन्न गर्नसमेत मन्त्री आलेले निर्देशन दिए ।  यसैगरी उनले उक्त विमानस्थलको धावनमार्ग, कन्ट्रोल टावर, यात्रु आवागमन तथा प्रस्थान कक्षको समेत निरीक्षण गरेका थिए ।

क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरण साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणहरुले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्नु हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्डको एरोथाइको प्राविधिक टोलीले क्यालिब्रेसन फ्लाइट गर्ने तयारी रहेको बताए ।

उनले भने, “क्यालिब्रेशन फ्लाइट एरोथाइको प्राविधिक टोलीले गर्छ, उनीहरूले समस्या छैन भनेपछि परीक्षण उडान हाम्रो प्राविधिक टोलीले गर्ने तयारी भएको छ ।”

क्यालिब्रेशन फ्लाइटमा धावनमार्गको एलाइनमेन्ट, बत्ती, उपकरण जाँच गर्ने र सबै चिजको रिपोर्ट ठीक भएपछि परीक्षण उडान गर्नुपर्ने नियम छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कुल ८०० बिघा क्षेत्रफल छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित