सुनकोशी गाउँपालिकाका सामुदायिक विद्यालयमा शुल्क दिए कडा कारवाही गरिने

सुनकोशी गाउँपालिकाका सामुदायिक विद्यालयमा शुल्क दिए कडा कारवाही गरिने

फरक पत्रिका

शुक्रबार, जेष्ठ ११ २०८१

सुनकोशी गाउँपालिकाका सामुदायिक विद्यालयमा शुल्क दिए कडा कारवाही गरिने

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले चालु शैक्षिक सत्र देखि गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा कुनै पनि शुल्क लिन नपाउने निर्णय गरेको छ ।
संघीय सरकारले कक्षा–१ देखि १० सम्म निःशुल्क भनेपनि सामुदायिक विद्यालयहरुले विभिन्न वहानमा विद्यार्थीहरुसँग शुल्क लिइरहेको अभिभावकहरुले गुनासो गरेपछि गाउँपालिकाले कक्षा–१ देखि १२ सम्म कुनै पनि शुल्क लिन नपाउने निर्णय गरेको हो ।
गाउँ शिक्षा समितिको बैठकले चालु शैक्षिक सत्र देखि गाउँपालिकामा सञ्चालनमा रहेको कक्षा १२ सम्मका विद्यालयमा कुनै शुल्क लिन नपाउने निर्णय गरेको गाउँ शिक्षा समितिका संयोजक एवम अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
विद्यार्थी भर्नाको बेलामा शुल्क नलिएपनि सहयोग शुल्क,परिक्षा शुल्कका नाममा विद्यार्थीसँग शुल्क लिएको अभिभावकहरुले गुनासो गर्दै आएका थिए । गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा निजी स्रोतमा शिक्षकहरु पनि राख्न नपाउने निर्णय गरेको छ । निजी स्रोतका शिक्षकहरु राख्नका लागि भन्दै विद्यार्थीसँग शुल्क लिने गरिएको रहेछ,अब हामीले कक्षा १२ सम्मको शिक्षा पुर्णरुपमा निःशुल्क बनाउनका लागि निजी स्रोतमा शिक्षक राख्न नपाउने निर्णय गरेका छौ गाउँपालिका अध्यक्ष तिमिल्सिनाले भने ।
विद्यालयहरुमा विद्यार्थी र शिक्षकहरुको अनुपात हेरेर बढी भएको विद्यालयबाट शिक्षक मिलान गरेर कम भएको विद्यालयमा शिक्षक पठाउनका लागि गाउँ शिक्षा समितिका सदस्य कृष्णप्रसाद सुवेदीको संयोजकत्वमा तिन सदस्य कार्यदल समेत गठन गरेको छ । कार्यदलले एक साता भित्र प्रतिवेदन दिएपछि त्यसैको आधारमा शिक्षक मिलान गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकामा सञ्चालित कक्षा १२ सम्म अध्ययन हुने विद्यालयहरुमा समान रुपमा दिवाकालिन रुपमा अध्ययन गर्ने व्यवस्था मिलाइएको समेत गाउँपालिकाले जानकारी दिएको छ । सुनकोशी गाउँपालिकामा कक्षा १२ सम्म पढाइ हुने विद्यालयहरु ६ रहेका छन् । गाउँपालिका भित्र जम्मा २६ सामुदायिक विद्यालयहरु रहेका छन् । गाउँपालिकाले कक्षा–५ सम्म सञ्चालित विद्यालयहरुमा १० जना भन्दा कम विद्यार्थी रहेका विद्यालयलाई ‘मर्ज’ नभनी नजिकै रहेको विद्यालयमा गएर पढ्दै,पढाउदै गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित