सिन्धुपाल्चोक । वाग्मती प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले जनशक्ति उत्पादन गर्नसक्ने व्यक्ति उत्पादन गर्नु नै विद्यालयकाे गुणस्तरीय शिक्षा भएकाे बताएका छन् ।
नवलपुर भ्याली स्कुलको वार्षिकोत्सब,सम्मान,पूर्व प्राथमिक तहका विद्यार्थी दिक्षान्त एवं अभिभावक भेलामा उनले यस्ताे बताएका हुन् ।
दुलालले स्थापनाको १ वर्षमा इन्द्रावतीको शैक्षिक उन्नयनका लागि विद्यालयले महत्त्वपूर्ण योगदान पुर्याएको विद्यालय प्रति आभार प्रकट गरे ।
मन्त्री दुलालले यातायात,संचार र प्राविधिको विकासले अहिले संसार एउटा गाउँको रुपमा रहेको भन्दै जहाँ पुगेपनि देश बनाउनका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले यो देश हामी आफैले बनाउने भएकाले अब्बल जनशक्ति उत्पादन गर्नसक्ने व्यक्ति उत्पादन गर्नु नै गुणस्तरीय शिक्षा भएकाले अहिले देखिनै यसको तयारी गर्नुपर्ने बताए।
मन्त्री दुलालले दृष्टिकोण,भाबना,दक्षता लगायत हरेक क्षेत्रबाट ब्यक्तिलाई अब्बल बनाउदै आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भावको विकास हुनु जरुरी रहेको बताए । उनले शैक्षिक पुर्वाधार,स्वास्थ्य,लगायत यहाँको विकासको लागी निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले पालिका भित्रका अन्य निजि विद्यालयको तुलनमा स्थापना भएको एक बर्षमै निकै ठुलो उपलब्धि हासिल गरेको भन्दै उनले विद्यालयलाई धन्यवाद व्यक्त गरे । बसाइँसराइ अहिले इन्द्रावतीमा निकै ठुलो चुनौतीको रुपमा देखा परेको भन्दै यसलाई रोक्दै गाउँमै उध्यम खोलेर उध्यमी बनाउने योजनाका साथ पालिका अगाडि बढिरहेको बताए ।
कार्यक्रमका बिशेष अतिथि समेत रहेका अध्यक्ष नेपालले आफ्ना नानीबाबु लाई गुणस्तरीय शिक्षा प्रदानका लागी शहर केन्द्रित भएका यहाँका अभिभावक तथा विद्यार्थीहरु अहिले गाउँ फर्किएको भन्दै खुशी व्यक्त गरे । यस विद्यालयले पुर्याएको योगदानले इन्द्रावतीको शिक्षा विकासमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै अध्यक्ष नेपालको भनाइ थियो ।
कार्यक्रममा प्याब्सन बागमती प्रदेशका सचिव ऋषिराम नेपालले वार्षिकोत्सब सफलताको सुभकामना व्यक्त गरे । स्थापना भएको पहिलो बर्षमै यसको भेगका अभिभावकहरुको मन जित्न सफल भएकोमा उनले खुशी व्यक्त गरे । देशकै शैक्षिक उन्ननयको लागि निजि विद्यालयहरुले महत्त्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै सचीव नेपालले अब शिक्षालाई सिप संग जोड्नका लागी छलफल भइरहेको बताए । कार्यक्रमको अवसरमा पुर्व प्राथमिक तहका २० जना विद्यार्थीलाई दिक्षित गरिएको विद्यालयका प्रीन्सिपल बुद्धिप्रसाद आचार्यले जानकारी दिए ।
कार्यक्रमको अवसरमा नवलपुर भ्याली पत्रकारिता सम्मान बाट पत्रकार देवराज सुवेदी, , साहित्य सम्मान बाट पत्रकार तथा साहित्यकार सुन्दर शिरिष, कला सम्मान बाट लोक गायक नवराज घोरासैनी र शिक्षा सम्मान बाट केतु बोर्डिङ स्कुलका प्रीन्सिपल एरोन लेप्चा सम्मानित भए ।
कार्यक्रममा प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष ओमप्रकाश उप्रेती ,इन्द्रावती गाउँपालिकाका प्रवक्ता वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्य,वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङ,वडा नम्बर ७ का अध्यक्ष रविन्द्रकुमार खाती,वडा नम्बर २ का अध्यक्ष श्यामबहादुर गिरि,वडा नम्बर ३ का अध्यक्ष भिमसेन थापा विभिन्न निजि विद्यालयका प्रतिनिधि लगायत शिक्षासेवि तथा समजसेवीहरुको उपस्थिती थियाे ।