काठमाडौँ – कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत १३ पदाधिकारीको नतिजा आएको छ । १३ पदाधिकारीमध्ये संस्थापन शेरबहादुर देउवा पक्षले ८, शेखर कोइराला पक्षले ४ र प्रकाशमान सिंह पक्षले एक पदाधिकारी जितेका छन् ।
जसमा देउवा पक्षले सभापति, एक उपसभापति, ६ सह–महामन्त्री गरी ८ पदाधिकारी जितेको हो । शेखर पक्षले एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री जितेको छ । एक महामन्त्री सिंह पक्षले जितेको छ ।
सहमहामन्त्री पदका महिला, दलित र आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्षेत्रको क्लष्टरबाट एक–एक गरी छुट्टाछुट्टै आठजना सहमहामन्त्री चुनिएका छन् ।
जसमा महिलातर्फ सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फ सहमहामन्त्री जीवन परियार र आदिवासी जनजाति सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन् ।
यस्तै, मधेशी क्लष्टरबाट सहमहामन्त्रीमा महेन्द्र यादव, थारुमा उमाकान्त चौधरी, मुष्लिममा फरमुल्लाह मन्सुर, खसआर्यमा किशोरसिंह राठौर, पिछडिएको क्षेत्रबाट बद्रि पाण्डे निर्वाचित भएका छन् ।
सहमहामन्त्रीमा संस्थापन पक्ष अर्थात सभापति शेरबहादुर देउवा समूहले वर्चश्व कायम गरेको छ । आठमध्ये ६ वटामा जित्दै देउवा समूहले बर्चश्व कायम गरेको हो । डा. शेखर कोइराला समूहले भने दुईवटामा मात्र जित हासिल गरेको छ ।
महिलाकी जितेकी डिना, आदिवासी जनजातिका आङ्देम्बे, मधेसीका यादव, थारुका चौधरी, मुस्लिमका मन्सुर र खसआर्यबाट जितेका राठौर देउवा समूहका हुन् ।
पिछडिएको क्षेत्रबाट जितेका पाण्डे र दलितका जीवन परियार शेखर समूहका हुन् । महिलातर्फमा देउवा समूहकी डिनाले शेखर समूहकी कमला पन्तलाई पछि पारेकी हुन् । देउवा समूहकै आङ्देम्बेले आदिवासी जनजातिमा शेखर समूहका विकास लामालाई हराएका हुन् ।
देउवा समूहबाट खसआर्यमा उठेका राठौरले शेखर समूहका चालिसेलाई पछि पारेका हुन् । यस्तै, मधेसीतर्फ जितेका देउवा समूहका महेन्न्द्रले शेखर समूहका रामकृष्ण यादवलाई पराजित गरेका हुन् ।
देउवा समूहका थारु क्लष्टरका उम्मेदवार उमाकान्तले शेखर समूहका तेजुलाल चौधरीलाई हराएका हुन् । यसैगरी देउवा समुहका मुस्लिम क्लष्टरका मन्सुरले शेखर समूहका शेख वकिललाई हराएका हुन् ।
यता, शेखर समूहका पिछडिएको समूहका उम्मेदवार पाण्डेले बाजी मार्दा देउवा समूहका जीवनबहादुर शाही र चेतराज बराललाई पछि पारेका हुन् । । शाही कर्णाली प्रदेशका मुख्यमन्त्री हुन् । त्यसैगरी, दलिततर्फका शेखरका उम्मेदवार परियारले देउवा समूहका मानबहादुर विश्वकर्मालाई हराएका हुन् ।