काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) अझै मौन रहेको छ । उपचुनावमा आफ्नै पार्टीबाट उम्मेदवार खडा गर्ने विषयमा माओवादी मौन रहेको हो ।
नेकपा (एमाले) ले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।अन्य दलहरुले पनि आन्तरिक तयारी गरेका छन् ।
नेपाली कांग्रेस, राप्रपालगायत दलहरूले उम्मेदवारका आकांक्षीका नाम क्षेत्रबाट जिल्ला कार्यसमितिमा पठाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार तय गर्न लागेको छ ।
नेकपा (एकीकृत समाजवादी)मा पनि अझै अन्योल छ ।
गत फागुन १६ गते बसेको माओवादी स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा माओवादी एक्लै चुनाव लड्ने निर्णय गरेको थियो। तर माओवादी अझै यसबारे मौन रहेको छ ।
माओवादीका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चुनावबारे चर्चा नभएको बताए ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार यही चैत २४ गते उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुपर्नेछ।
२०७९ को प्रतिनिधि सभा चुनावमा इलाम २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्का र एमालेका सुवास नेम्वाङबीच मुख्य प्रतिस्पर्धा भएकोमा नेम्वाङ विजयी भएका थिए। गत भदौ २६ गते एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको निधन भएपछि यो क्षेत्र रिक्त छ।