‘यसपटक गुटगतभन्दा व्यक्तिगत प्रतिष्पर्धा हुने विश्वास छ’

‘यसपटक गुटगतभन्दा व्यक्तिगत प्रतिष्पर्धा हुने विश्वास छ’

फरक पत्रिका

शनिबार, असोज १० २०८३

‘यसपटक गुटगतभन्दा व्यक्तिगत प्रतिष्पर्धा हुने विश्वास छ’

अहिले नेपाली कांग्रेसको १५ औं महाधिवेशनले राजनीति वृत्तमा सिंगो मुलुक तातेको छ । टोल टोलमा कांग्रेसका गफहरुले माहोल झनै बढाइरहेको अवस्था छ । सिन्धुपाल्चोक पनि देशको यो परिदृष्यबाट अछुतो छैन । यहाँ वडा, पालिकाको अधिवेशन सकेको कांग्रेस अब तत्काल क्षेत्र र प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । यसै सिलसिलामा हालै चौतारा साँगाचोकगढी नगरपालिकाबाट नेपाली कांग्रेसको नगर सभापतिमा निर्वाचित हुनुभएका निर्मल श्रेष्ठसँग फरकपत्रिकाका लागि संघारमै आएको क्षेत्रीय अधिवेशनबारे गरिएको ५ वार्तालाप यहाँ प्रस्तुत गरिएको छ ।

प्रश्न १– क्षेत्रीय अधिवेशनलाई कांग्रेस चौतारा नगर समितिले कुन रुपमा हेरिरहेको छ ?
नेपाली कांग्रेसको आन्तरिक माहोलमा महाधिवेशन एउटा उत्सव मात्रै हैन महाउत्सव हो । यस प्रक्रियामा नेपाली कांग्रेसका क्रियाशील सदस्यदेखि केन्द्रीय तहको नेतृत्वसम्मको उत्साहजनक सहभागिता हुन्छ । नेपाली कांग्रेस चौतारा साँगाचोकगढी नगरपालिकाले अत्यन्तै सूक्ष्म तवरले हेरिरहेको छ यो क्षेत्रीय अधिवेशनलाई । हामीले यसलाई चौतारा साँगाचोकगढी नगरपालिकामा स्थानीय स्तरमा राजनीति गरिरहेका नेता कार्यकर्तालाई क्षेत्रीय एवं केन्द्रीय स्तरसम्म पुर्याउने सुनौलो अवसरका रुपमा लिएको छौं ।
प्रश्न २–नगरका सबै वडाबाट प्रतिनिधित्व गराउन कस्तो तयारी गर्नुभएको छ ?
नेपाली कांग्रेसमा धेरै पुराना अनुभवीदेखि भर्खरै राजनीतिमा चासो राख्न थाल्नुभएका युवा साथीहरू सम्म हुनुहुन्छ । जहाँसम्म नगरका सबै वडाबाट प्रतिनिधित्व गराउने कुरा छ त्यसका लागि हामिले पहिलो कुरा त पार्टी भित्र उहाँहरुको क्रियाशिलता र योगदानलाई मुख्य आधार बनाइएको छ । पार्टीले विभिन्न क्लस्टर छुट्टयाएको छ त्यसैको आधारमा हामीले सवै वर्गको समान सहभागिताका लागि पार्टीको उपल्लो नेतृत्वसंग निरन्तर छलफल एवं संवाद गरिरहेका छौं । यस अगाडिको अधिवेशनहरुमा हामी चौतारा साँगाचोकगढी नगरपालिकाका क्षेत्रीय प्रतिनिधिहरुको समन्वय हुन नसक्दा हामीले केन्द्रीय महाधिवेशन प्रतिनिधि एक जनालाई पनि जिताउन सकेनौ। अहिले म निर्वाचित भएपछि सबै वडा सभापतिज्यूहरु सहित क्षेत्रीय प्रतिनिधिज्यूहरुसँग अनौपचारिक छलफल गरेर एकताबद्द बनाउने यत्न गरिरहेको छु ।
प्रश्न ३– क्षेत्रीय अधिवेशनमा नगरको मुख्य एजेन्डा के हुनेछ ?
क्षेत्रीय अधिवेशनमा नगरको मुख्य एजेन्डा त हाम्रो नगर भित्रका आदरणीय नेता ज्युहरु उम्मेदवार रहनुभएको स्थानमा विजयी गराउनु हुनेछ । अर्को प्रमुख एजेन्डा निकट भविस्यमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवार हरुलाई कसरी जिताउन सकिन्छ त्यस विषयमा पनि गम्भीर छलफल गरिने छ ।
प्रश्न ४–क्षेत्रीय नेतृत्वमा नगरको भूमिका र अपेक्षा के छ ?
नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया लोकतान्त्रिक प्रक्रियामार्फत हुनेछ । क्षेत्रीय नेतृत्वमा नगरको तर्फबाट विभिन्न पदहरुमा दावी रहन्छ । त्यसका लागि अन्य पालिकाको समेत साथ सहयोग रहन्छ भन्ने अपेक्षा छ ।
प्रश्न ५–क्षेत्रीय अधिवेशनलाई गुटगत प्रतिष्पर्धाभन्दा संगठन सुदृढीकरणतर्फ लैजान के गर्नुपर्ला ?
यसपटकको क्षेत्रीय अधिवेशन अलि पृथक ढंगबाट हुँदैछ । यो पालि गुटगतभन्दा व्यक्तिगत प्रतिष्पर्धा हुने विश्वास छ । जहाँसम्म संगठन सुदृढीकरणको कुरा छ त्यसका लागि लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन पाउने अधिकार नेपाली कांग्रेस पार्टीले सबै क्षेत्रीय प्रतिनिधिहरुलाई दिएको छ । समावेशी र समानुपातिक प्रतिनिधित्व सबै वर्ग र जातजातिको हुनुपर्छ । युवाहरुलाई पार्टी तर्फ आकर्षित गर्नका लागि पार्टीभित्र धेरैभन्दा धेरै युवा प्रतिनिधित्वको आवश्यकता छ । भाषा, धर्म, जातजाति एंव युवा वर्गको समान सहभागितासहित पहुँच हुने हो भने नेपाली कांग्रेसको संगठन आफैं मजबुत भइहाल्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित