को हुन् सिन्धुपाल्चोक २ प्रदेश ‘क’को सभापतिमा उम्मेदवारी घोषणा गरेका खड्का र बानियाँ ?

को हुन् सिन्धुपाल्चोक २ प्रदेश ‘क’को सभापतिमा उम्मेदवारी घोषणा गरेका खड्का र बानियाँ ?

फरक पत्रिका

शुक्रबार, असोज ९ २०८३

को हुन् सिन्धुपाल्चोक २ प्रदेश ‘क’को सभापतिमा उम्मेदवारी घोषणा गरेका खड्का र बानियाँ ?

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत बाँकी रहेका अधिवेशनको चहलपहल निकै बढेको छ । वडा र पालिका अधिवेशन सकेको सिन्धुपाल्चोकमा क्षेत्र र प्रदेशको सरगर्मी बढेको हो ।
यसैबीच सिन्धुपाल्चोकको क्षेत्र नं २ प्रदेशसभा ‘क’को सभापति पदमा दुई जनाले दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरुले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । घोषणा गर्नेमा भगवान खड्का र देवप्रसाद बानियाँ रहेका छन् ।
खड्का सानै उमेरदेखि राजनीतिमा सक्रिय छन् । विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा जोडिएका खड्काले आफूलाई नयाँ पुस्ताको प्रतिनिधिका रूपमा अघि सारेका छन्। नेविसंघको जिल्ला सदस्यदेखि नेपाली कांग्रेस चौतारा साँगाचोकगढी नगर कार्यसमितिको सचिवको जिम्मेवारीसम्मको अनुभव रहेको छ ।
यसअघिको १४ औं महाधिवेशनमा नगर सभापतिका लागि दाबी गरेका उनी सचिवमै खुम्चिएका थिए । अहिले पनि उनले नगर सभापतिमै आकांक्षा राखेका थिए । तर, निर्मल श्रेष्ठ अन्ततः चौताराको नगर सभापतिमा निर्विरोध भए ।
राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय खड्का लायन्स क्लबमा आबद्ध भएर सामाजिक सेवामा क्रियाशील रहँदै आएका छन्। उनी समाजसेवामार्फत पनि समुदायसँग जोडिँदै आएका छन्।
त्यस्तै अर्का आकांक्षी बानियाँ सानै उमेरदेखि प्रजातन्त्रको आन्दोलनमा सहभागी भएका व्यक्ति हुन् । २०४२ सालको सत्याग्रह आन्दोलनका क्रममा १५ वर्षको उमेरमै जेल जीवन भोगेका थिए । उनले आफ्नो उम्मेदवारीलाई एकता, सम्मान र सुदृढ संगठन निर्माणप्रतिको प्रतिबद्धताका रूपमा प्रस्तुत गरेका छन्।
बानियाँ यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेशसभा ‘क’ को सभापति पदमा केशवराज गिरीसँग पराजित भएका थिए। बानियाँ इन्द्रावती गाउँपालिका–३ का पूर्ववडाध्यक्षसमेत हुन्। उनलाई स्थानीयस्तरमा समाजसेवी भनेर पनि चिनिइन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित