काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेत युवराज दुलालले तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । सिन्धुपाल्चोकको प्रतिनिधिसभा २ बाट चुनाव जितेका दुलालले प्रतिनिधि सभाको मंलगवारको बैठकमा बोल्ने क्रममा यस्तो माग गरेका हुन् ।
रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण केरुङ नाका अवरुद्ध भएको उल्लेख गर्दै वैकल्पिक नाकाको रुपमा रहेको तातोपानी नाका खुलाउन कूटनीतिक पहल गर्न सरकारसँग माग गरे ।
‘रसुवाको केरुङ नाका भोटेकोशी बाढीले बगाएपछि हामीसँग सहज यातायात सुचारु गर्न सकिने र नाका सञ्चालन गर्न सकिने तातोपानी नाका आज बन्द अवस्थामा छ । दुई हप्ताभन्दा लामो समय भइसक्यो, सरकारबाट कूटनीतिक पहल गरेर तातोपानी नाका खुलाउने कुनै प्रयत्न प्रभावकारी भएको छैन । दशैँको मुखमा हामी छौं,’ सांसद दुलालले भने, ‘भोटेकोशी नदीले एकातिर सामान बगाएको छ, व्यवसायीको ठूलो क्षति भएको छ र बजारमा सामान अभाव हुने समस्या आएको छ भने अर्कोतर्फ चाडपर्वको मुखमा सामान आयात नहुँदाखेरि नागरिकहरुलाई भोलि सास्ती पर्ने देखिन्छ । एकातिर महङ्गी आकासिएको छ, हुन त यो सरकारलाई महङ्गी आकासिँदा गरिब जनतालाई गाह्रो हुन्छ व्यवहार चलाउन भन्ने कुरा अनुभूति दिलाउन हामीले सकेका छैनौँ ।’
तातोपानी नाका लामो समयदेखि बन्द हुँदा दशैँको मुखमा आयात–निर्यात प्रभावित हुनुका साथै बजारमा वस्तुको अभाव र महँगी बढ्ने अवस्था सिर्जना भएको उनले बताए ।
‘यो सरकारलाई महङ्गीको मार एउटा गरिबको चुलोमा कसरी पर्छ भन्ने कुरा हामीले बुझाउन सकेका छैनौँ र जताततै यो महङ्गी जुन आकासिएको छ यो अवस्थामा तातोपानी नाका अविलम्ब कूटनीतिक पहल गरेर सुचारु गर्नको लागि म नेपाल सरकारसँग जोडदार माग गर्दछु,’ उनले भनेका छन् ।
कोरला नाकामा चिनियाँ पक्षले नेपाली मुस्ताङ मुस्ताङबाहेकका अन्य चालकहरुलाई प्रवेश अनुमति नदिएको कारणले र ठूला सवारीहरु चलाउने पर्याप्त चालक जनशक्ति त्यहाँ नभएको उनले उल्लेख गरे ।
भोटेकोशी नदीको बाढीले सामान बगाउँदा व्यवसायीले ठूलो क्षति व्यहोरेका छन् भने नाका बन्द हुँदा चाडपर्वका बेला अत्यावश्यक वस्तुको आपूर्तिमा समेत समस्या आउन सक्ने देखिएको भन्दै चिन्ता उनले व्यक्त गरे ।