रसुवा बाढीमा चीनतर्फ फसेका ११४ जना तातोपानी आइपुगे

रसुवा बाढीमा चीनतर्फ फसेका ११४ जना तातोपानी आइपुगे

फरक पत्रिका

बिहिबार, भाद्र १८ २०८३

रसुवा बाढीमा चीनतर्फ फसेका ११४ जना तातोपानी आइपुगे

सिन्धुपाल्चोक । भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १ सय ४७ जना नेपाली नागरिकमध्ये १ सय १४ जना नेपाल आइपुगेका छन् । उनीहरु केरुङ क्षेत्रबाट बिहीबार तातोपानी नाका हुँदै नेपाल फर्किएका हुन् ।
नेपाल फर्किनेमा सिन्धुपाल्चोक, नुवाकोट तथा अधिकांश रसुवा जिल्लाका रहेको जनाइएको छ। चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित उनीहरूलाई नेपाल पठाउने जानकारी गराएको थियो । तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाले चीनतर्फ सुरक्षित रहेका नेपालीहरु तातोपनी हुँदै फर्किएको जानकारी दिए । उनकाअनुसार चिनियाँ पक्षले राहदानीसहित सबै विवरण दिएर तातोपानीमा नेपाली अधिकारीलाई जिम्मा दिएका हुन् । उनीहरुलाई सम्बन्धित निवाससम्म लैजान तीनवटा बसकोसमेत व्यवस्था गरिएको छ ।
उनीहरू केरुङ क्षेत्रबाट सडकमार्ग हुँदै तातोपानी नाकातर्फ प्रस्थान गरेका थिए । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले चिनियाँ पक्षले सुरुमा १ सय ४७ जनाको नाम विवरण पठाएपनि अहिले १ सय १४ जना तातोपानी हुँदै नेपाल भित्रिएको बताए । भोलि २ सय जना आउने तयारी रहेकोसमेत उनले जानकारी दिए ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उक्त क्षेत्रमा रहेका नेपाली नागरिक प्रभावित भएका छन्। केही नागरिक अझै सम्पर्कविहीन छन् भने चीनतर्फ सुरक्षित अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको थियो।
बाढीपछि सम्पर्कविहीन रहेका सिन्धुपाल्चोकका २ सय ३९ जनाको अवस्था अझै अज्ञात छ। उनीहरूको खोजीमा आफन्त तथा सम्बन्धित निकाय लागिरहेका छन्। तातोपानी नाका हुँदै नेपाल फर्किने नागरिकको व्यवस्थापन तथा आवश्यक समन्वयका लागि चिनियाँ जाङ्मु पोर्टसँग प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित अन्य निकायले तयारी गरिरहेको प्रशासनले जनाएको छ । चिनले यसअघि पहिरोको जोखिम देखाउँदै तातोपानी नाकाबाट पनि व्यापार बन्द गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित