सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको अधिवेशन पुनः स्थगित भएको छ।
शनिबारबाट सुरू जिल्ला अधिवेशनमा विवाद सिर्जना भएपछि अवरूद्ध प्रक्रिया अघि बढाउन केन्द्रीय निर्वाचन आयोगले मधुकुमार चौलागाईंको नेतृत्वमा निर्वाचन समिति पठाएको थियो।
तीन सदस्यीय उक्त समितिले पनि निर्वाचन प्रक्रिया अघि बढाउन नसकेपछि अधिवेशन अहिलेका लागि स्थगित गरिएको चौलागाईंले बताए।
‘सिन्धुपाल्चोकको जिल्ला अधिवेशन शनिबारबाट सुरू भएको थियो। आकांक्षी धेरै भएर विवाद बढ्दै गएपछि निर्वाचन गराउने जिम्मा पाउनुभएका साथी बिरामी भएँ भन्दै काठमाडौं आउनुभएछ,’ चौलागाईंले भने, ‘आज केन्द्रीय निर्वाचन आयोगले मेरो नेतृत्वमा समिति बनाएर अधिवेशन सुरू गर्ने जिम्मा दिएको थियो। तर सहजतापूर्वक कार्यक्रम अघि बढाउन नसकेपछि प्रक्रिया स्थगित गरेर म फर्किएँ।’
जिल्लाको नेतृत्वका लागि अहिले जेपी सिलवाल, पासाङ तामाङ, चक्रपाणि सिग्देल, दिलराम श्रेष्ठ लगायतले दाबी गरिरहेका छन्। उनीहरूबीच सहमति जुट्न नसक्दा अधिवेशन प्रभावित भएको चौलागाईंले जानकारी दिए।
‘केन्द्रीय प्रतिनिधि फर्किनुको अर्थ अधिवेशन नै हुन नसक्ने भन्ने होइन। मैले आफू फर्कँदै गर्दा पनि त्यहाँका साथीहरूलाई सहमतिमा नभए प्रक्रियाबाट भए पनि अधिवेशन टुंग्याउन सकिने बताएको छु। केन्द्रीय प्रतिनिधिको काम सहजीकरण हो। त्यहाँका साथीहरूले त्यो वातावरण नबनाएकाले प्रक्रिया अघि बढाउन नसकिएको हो,’ उनले भने।
यसअघि तदर्थ जिल्ला समितिको नेतृत्व गरिरहेकी माया गुरुङ प्रतिस्पर्धाबाट बाहिरिएकी छन्। उनले नेतृत्व गर्न नचाहेको नेताहरूले बताएका छन्। तर केन्द्रीयदेखि जिल्ला तहका नेताहरूले उनैलाई सर्वसम्मत रूपमा जिल्लाको नेतृत्व लिन आग्रह गरिरहेका छन्।
रास्वपा केन्द्रीय निर्वाचन आयोगले आइतबार चौलागाईंको नेतृत्वमा विनोद कँडेल, करूणा पाण्डे सदस्य रहेको निर्वाचन समिति बनाएको थियो।