सिन्धुपाल्चोक-२ सहित यी हुन् कांग्रेसले अन्तर्घात भएको भनेको निर्वाचन क्षेत्र

सिन्धुपाल्चोक-२ सहित यी हुन् कांग्रेसले अन्तर्घात भएको भनेको निर्वाचन क्षेत्र

फरक पत्रिका

आइतबार, चैत्र ८ २०८२

सिन्धुपाल्चोक-२ सहित यी हुन् कांग्रेसले अन्तर्घात भएको भनेको निर्वाचन क्षेत्र

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरेको छ । समीक्षा बैठकमा २१ निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय बेहोर्नुपरेको निष्कर्स निकालेको हो । २१ क्षेत्र भनिए पनि बैठकमा सिन्धुपाल्चोक-२ सहित ११ क्षेत्रको चर्चा गरिएको थियो ।
सिन्धुपाल्चोक २ मा नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलालसँग कांग्रेसका वंशलाल तामाङ पराजित भएका थिए ।

बैठकमा प्रस्तुत प्रारम्भिक विश्लेषणले धेरै नजिकका प्रतिस्पर्धात्मक क्षेत्रमा आन्तरिक असहयोग निर्णायक बनेको औंल्याएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार सानो मतान्तरले गुमाइएका क्षेत्रमा संगठनभित्रको असन्तुष्टि, समन्वय अभाव र अन्तर्घात प्रमुख कारणका रूपमा देखिएका छन् ।

उनले ५ सय देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका अधिकांश क्षेत्रमा आन्तरिक असहयोग नै निर्णायक बनेको जानकारी दिए । बैठकमा नेताहरूले ताप्लेजुङ, ओखलढुंगा, धनुषा–१ र सिन्धुपाल्चोक–२ लगायतका क्षेत्रमा अन्तर्घातका कारण उम्मेदवारहरू पराजित भएको बताएका थिए । त्यस्तै, स्याङ्जा–२, दार्चुला र बैतडीमा पनि पार्टीभित्रकै असहयोगका कारण परिणाम प्रभावित भएको विषय केन्द्रीय सदस्यहरूले बैठकमा उठाएका थिए ।

डडेलधुरा, संखुवासभा, धनकुटा र भोजपुरमा समेत उम्मेदवारहरूको हारमा अन्तर्घात प्रमुख कारण रहेको उक्त क्षेत्रका केन्द्रीय सदस्यहरूले बैठकमा बताएको एक केन्दीय सदस्यले बताएका थिए । यद्यपि बैठकमा औपचारिक रूपमा ११ निर्वाचन क्षेत्रको मात्रै विस्तृत समीक्षा भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

प्रवक्ता चालिसेले भने समग्रमा २१ निर्वाचन क्षेत्रमा अन्तर्घातका कारण पराजय भएको निष्कर्ष पार्टीले निकालेको बताएका थिए ।

उनका अनुसार ३ हजारदेखि ५ हजारसम्मको मतान्तरमा हारिएका क्षेत्रमा आन्तरिक मतभिन्नतासँगै चुनावी अभियानको प्रभावकारितामा कमी देखिएको हो ।

त्यसैगरी, ५ हजारदेखि १० हजारसम्मको मतान्तरले पराजित भएका क्षेत्रमा भने अन्तर्घातसँगै कमजोर चुनावी रणनीति र विपक्षी दलहरूले निर्माण गरेको प्रतिकूल राजनीतिक न्यारेटिभले काँग्रेसलाई असर पारेको विश्लेषण गरिएको प्रवक्ता चालिसेले जानकारी दिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित