काठमाडौँ- सत्ताको नेतृत्वको गरिरहेको दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एसमिसी) सँगको सम्झौता अनुमोदनका लागि संसदमा पेस गर्नुपर्ने बताएको छ।
बिहीबार दिउँसो केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा एमसिसीबारे लामो छलफल भएको थियो।
केन्द्रीय सदस्य शेखर कोइरालाका अनुसार बैठकमा पूर्वअर्थमन्त्री रामशरण महतले एमसिसी किन नेपालको हितमा छ भनेर लामो ब्याख्या गरेका थिए।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महतलाई यसबारे छोटकरी सबै कुरा आफूलाई बुझाउन भनेका थिए।
‘एमसिसी नेपालका लागि राम्रो हो। यो पास गर्दा अमेरिकी सेना यहाँ आउने होइन भन्ने कुरा जनतालाई बुझाउनु पर्छ भन्ने छलफल भयो,’ कोइरालाले भने।
बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले कांग्रेस एमसिसीको छिनोफानो संसदबाट गर्ने पक्षमा रहेको बताए।
‘जनताका प्रतिनिधिहरूसामू छलफलका लागि प्रस्ताव पठाउनु पारदर्शी कुरा हो। एमसिसीबारे विभिन्न हल्लाहरू फैलाइएका छन् ती सबैबारे जनताका प्रतिनिधिले छलफल गर्न पाउनुपर्छ,’ प्रवक्ता महतले भने,‘राम्रो/नराम्रो के हो हेरेर सांसदले निर्णय गर्छन्।’
एमसिसी संसदमा पेस नगरेर यो त के हो, के हो भन्ने भ्रम पारिएको महतले बताए।
सरकारले एमसिसी संसदमा पेस गर्ने भएपछि त्यसलाई सभामुखले रोक्न नमिल्ने उनको भनाइ छ।
‘सभामुखको काम, कर्तव्य र अधिकार के हो भन्ने कुरा स्पष्ट छ, त्यो सभामुखले पनि राम्ररी बुझ्नुभएको छ,’ महतले भने,‘उहाँले म यो टेबल गर्छु, यो गर्दिनँ भन्न पाउनु हुन्न।’
सत्तारूढ गठबन्धनभित्रका दलहरूले पनि औपचारिक रूपमा एमसिसी चाहिँदैन नभनेकाले व्यक्तिगत टिप्पणीको कुनै महत्व नहुने उनले बताए।
माओवादी केन्द्र र एकीकृत समाजवादीका केही नेताहरूले संशोधन नगरी एमसिसी पास गर्न नहुने बताउँदै आएका छन्।
फेब्रुअरी २८ सम्म सम्झौता संसदबाट अनुमोदन नभए ५०० मिलियन डलरको सहयोग फिर्ता लिने सन्देश एमसिसीले पठाइसकेको छ।
एमसिसीले डेडलाइन दिएपछि सरकारलाई फेब्रुअरी २८ सम्म सम्झौता पारित गर्नुपर्ने दबाब परेको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्ने छ।