चौतारा ५ का अध्यक्ष भन्छन्-यसरी बन्दैछ चौतारा, यसैले खुशी छन् वडाबासी

चौतारा ५ का अध्यक्ष भन्छन्-यसरी बन्दैछ चौतारा, यसैले खुशी छन् वडाबासी

फरक पत्रिका

बुधबार, असोज ८ २०८२

चौतारा ५ का अध्यक्ष भन्छन्-यसरी बन्दैछ चौतारा, यसैले खुशी छन् वडाबासी

शिव श्रेष्ठ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष हुन् । युवाको रोजाइमा रहेका र सिंगो वडावासीले समृद्ध चौतारा निर्माणका अभियन्ताको सोच राख्दै नीति निर्माण तथा विकासका अभियन्ता भन्दै चुनाव जिताए । हामीले उहाँलाई आफ्नो कार्यकालमा अहिलेसम्मका कार्यसम्पादन, विकास निर्माण, स्वास्थ्य, शिक्षालगायतका बारेमा सोधेका छौं । र, सोधेका छौं भावी योजना अनि जनता र नगरपालिकासँगको सम्बन्ध र भएका कामहरु । प्रस्तुत छ उनै वडाअध्यक्ष श्रेष्ठसँग फरकपत्रिका डटकमका लागि गरिएको कुराकानीको सम्पादित अंश ।

१) यस्ता भए प्रमुख उपलब्धिहरु

संघ, प्रदेश र स्थानीय सरकारको पहलमा विद्यालय, सडक, मठमन्दिर लगाएका धेरै पूर्वाधारका काम भएका छन् । आफ्नै स्रोत साधनबाट वडा भित्र धेरै ठूला योजनाहरुलाई सम्बोधन गर्न नसकेपनि आवश्यकता र प्राथमिकताको आधारमा निम्न योजनाहरु भएका छन् ।

भौतिक पूर्वाधार, सडक तथा फुटपाथ :

  • चौतारा बजार क्षेत्रमा हुने सवारी आवागमनलाई व्यवस्थित गर्न सडक सवारीसाधन एकतर्फी गर्ने लक्ष्यका साथ आहालडाँडा आर्मीव्यारेक डाँडापारी हुँदै भिरकुना सडकमा उकालो क्षेत्रमा ढलान लगायतका कार्यगरी स्तर उन्नती ।
  • सडक बत्ती, एकतर्फी पार्किङ्ग, जेब्राक्रस, विद्यालय क्षेत्रमा स्पीड ब्रेकर, ट्राफिक सिग्नल, सडक दायाँबायाँको सम्भव रहेका ठाउंहरुमा फुटपाथ निर्माण तथा बस्तीहरुसंग जोड्ने गोरेटोबाटोहरुको स्तरउन्नती लगायतका कार्यक्रम सम्पादन भई व्यवस्थित आवागमन तथा सडक सुरक्षाका लागि विशेष जोड दिएको छ ।
  • दाँची तथा बुट्टा ईटाको मौलिक तथा परम्परागत फल्चा, गमला निर्माण गरी बजारक्षेत्रलाई पर्यटन मैत्री बनाउन पहल गरिएको ।
  • भदौरे जाने सडक निर्माणको शुरुवात भएको ।

आर्थिक-सामाजिक–साँस्कृतिक- पर्यटन तथा वातावरण :

  • लक्ष्यित वर्गहरुका लागि आयआर्जन, क्षमता विकासका लागि तालिमहरु सञ्चालन गरी क्रमशः आत्मनिर्भरताको वातावरणको लागि कार्यक्रम सञ्चालन ।
  • स्वस्थ जीवन यापनको लागि खुला व्यायम क्षेत्र, खेलकुद, योगसाधनाको लागि अनुकल वातावरण तयारी गरी उक्त कार्यका लागि उत्प्रेरणा जागेको छ ।
  • वसपार्क क्षेत्रमा नागरिक सहायता कक्ष निर्माण आवश्यकतानुसार प्रतिक्षालय, चौतारी निर्माण तथा स्तरउन्नतीका गतविधि सम्पादन भएको छ ।
  • सडकको दायाँबायाँ फूलका विरुवा वृक्षारोपन गरी हरियाली शहरको रुपमा विकास गर्न पूर्वाधार तयार गरिएको ।
  • चौतारा पुरानो बजारको क्षेत्रलाई सामुदायिक होमस्टेको रुपमा विकास गर्न मौलिक प्रकारको पूर्वाधार तयार गर्नुका साथै यस क्षेत्रको परम्परागत जात्रापर्वहरुलाई व्यवस्थित गर्दै साँस्कृतिक पर्यटन विकासको लागि आवश्यक कार्य भएको ।
  • बिजुली तथा टेलिफोन तारको व्यवस्थापन ।
  •  फोहरमैला व्यवस्थापनका लागि जनशक्ति व्यवस्थापन तथा परिचालन ।

२. अब प्राथमिकतामा

क) स्थानीय सबै सरोकार निकायहरुसंग समन्वय तथा सामानजस्यता कायम गर्दै बजेट सीमा तथा स्रोत साधनले भ्याएसम्म आवश्यकता एवम् प्राथमिकताको आधारमा सबै क्षेत्रलाई समेटेर लानेछु ।
ख) चौताराको एकतर्फीको योजनालाई पूर्णता दिई कार्यान्वयनमा लोने सपना छ । सुरुवात भईसकेको छ यसलाई निरन्तरता दिदै जाने छु ।
ग) बजार व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेको छु ।
घ) आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धनको योजना बनाएको छु ।
ङ) भविष्यमा मुख्य समस्याको रुपमा देखिने फोहोर व्यवस्थापन, बसपार्क, विजुली अण्डरग्राउण्ड बिजुली, व्यवस्थित घाट, चिल्डेन पार्क, क्रियापुत्री घर, जेष्ठ नागरिक सेवा केन्द्र, प्रवेशद्धार निर्माणका कार्यक्रम अगाडी बढाउनेछु ।
च) मासिक १ दिन नियमिति व्यापार व्यवसाय बन्द गरी हाटबजार तथा फुडफेस्टभल जस्ता रचनात्मक कार्यक्रम संचालन गरी कृषि तथा पर्यटन विकासका गतिविधि सञ्चालन गर्ने ।
छ) विपद्को दिष्टकोरणले छेकाथोक दलित बस्ती स्तान्तरण र २०७२ सालको भुकम्पबाट  पुर्णक्षती भई नभत्काई राखेको जोखिमयुक्त भौतिक संरचना भत्काउन आवश्यक पहल गर्ने ।
ज) प्रदेश सरकारले मान्यता दिएका भाषा कक्षा संचालन गर्ने ।
झ) फुटसल र क्रिकेट ग्राउण्ड निर्माण ।
ञ) सार्वजनिक जग्गाको खोजी सिमाङकन रेखाङ्कन गर्ने ।
च) पूर्व जनप्रतिनिधिले सुरु गरेका राम्रा कामहरुलाई निरन्तरता दिने ।
छ) मौलिक, साँस्कृति, इतिहास लगायत विषयबस्तु समेटी चौताराको चिनारी पुस्तक प्रकाशन गर्ने ।

३) सेवाग्राहीलाई पाँच मिनेटमै सेवा, यसरी सुन्छौं जनताका गुनासो

हाम्रो जनतासंग प्रतिवद्धता नै थियो छिटो छरितो र गुणस्तरीय सेवा हामीले नेपालको संविधान, स्थानीय सरकार संचालन ऐनले दिएका क्षेत्राधिकारमा रही प्रदान गरेका सेवाहरुबाट वडाबासीहरु खुसी र सन्तुष्ट नै भएको पाएका छौ । सेवाग्राहीलाई हामीले कार्यालयमा प्रवेश भए पश्चात कार्यप्रकृतिको आधारमा ५÷१० मिनेट भित्र सेवा दिएका छौ भने आवश्यकता अनुरुप साझ विहान र कुनै पनि विदा नभनि सेवा अपलब्ध गराएका छौ । कुनै सूचना तथा जानकारी दिनुपर्दा सामाजिक संजाल, सुचनापाटी, रेडियो, वडाको आफ्नै फेसबुक पेज मार्फत दिने गरेका छौ ।

४) यसरी सम्भव छ विद्यालय सुधार

यस वडामा प्राविधिक शिक्षालय १, क्याम्पस १, माध्यमिक विद्यालय ३, आधारभुत विद्यालय ३ र मन्टश्वरी २ गरी जम्मा १० वटा शैक्षिक संस्थाहरु संचालनमा रहेका छन् ।

प्राविधिक शिक्षालय राष्ट्रको गौरवको योजना अन्तरगत पर्ने भए पनि सोचेको मात्रामा विद्यार्थिहरु ल्याउन र आउन सकिरहेको छैन । क्याम्पसमा पनि बषौँ विद्यार्थीहरु कम हुन्दै गई रहेको अवस्था छ । एसइइ सकिन साथ राजधानी जानु मुख्य कारण हो भन्ने प्लस टु सकेका विद्यार्थीहरु पनि वैदेशिक रोजगार र रोजगारीको निम्ति राजधानी नै केन्द्रित हुने अवस्था पाएका छौँ । त्यसैले बैदेशिक यात्रालाई रोकी यहाँ नै पर्यटन लगायत अन्य रोजगारीको वातावरण सृजना गर्न सकेनौ भने शिक्षा क्षेत्र धरासयमा पर्नुका साथसाथै युवा शक्ति पलायन हुने खतरा पनि उतिकै छ ।

विद्यालयको विषयमा कुरा गर्ने हो भने यस वडामा आधारभुत विद्यालय ३ वटा छन् ३ वटामा नै विद्यार्थी संख्या धेरै नै कम छ । एउटा निजी माध्यमिक विद्यालय छ र २ वटा सरकारी माध्यमिक विद्यालय छ । समग्रमा र तुलनात्मक हिसावले भन्ने हो भने शिक्षाको गुणस्तर सन्तोषजनक मान्न सकिन्न यो वडा सदरमुकाम भएको नाताले यहाँको हरेक गतिविधिले जिल्ला भरी नै प्रभाव तथा प्रचार हुन्छ । शिक्षाको गुणस्तर विकासका लागि हामी संवेदनशील हुनै पर्छ । यहाँ जिल्लाकै जेठो पुरानो र नमुना विद्यालय पनि छ हिजोको दिनमा यहाँबाट पाएको शिक्षा र आजको शिक्षामा तुलना गर्ने होभने धेरै फरक र कमिकमजोरी छ । यसका धेरै कारणहरु छन् । मलाई लागेको मुख्य केहि कुराहरु राख्न चाहान्छु ।

क) आम अभिभावकले आफ्नो बालबालिकाको गतिविधि, पढाई, विद्यालय र शिक्षकको विषयमा जानकारी तथा चासो हुनपर्यो । आवश्यकता अनुसार नियन्त्रणगर्ने, सल्लाह सुझाव दिने अनुगमन गर्ने, वातावरण तयार गर्नपर्यो ।
ख) विद्यार्थीको भविष्य निर्माण गर्ने विद्यालय र शिक्षक नै हो । शिक्षक आफ्नो जिम्मेवार र दायित्वप्रति बफदार हुन पर्यो ।
ग) शिक्षकलाई प्रोत्साहन, आवश्यक तालिम, पुरस्कृत गर्ने, प्रचलित नियम अनुसार सेवा सुविधा प्रदान गर्ने योजना हुनपर्यो ।
घ) सेवा अवधि पुगेका क्षमता कमभएका र पुरानो पाठ्यक्रममा आधारित शिक्षकलाई सम्मानजनक हिसावले सेवा सुविधा दिई विदाई गर्नपर्ने ।
ङ) कुनै विद्यालयमा विद्यार्थी नहुने र कुनै विद्यालयमा क्षमता भन्दा दोब्बर हुने अवस्थालाई केन्द्रिकृत गरी गुणस्तरीय शिक्षाको योजना बनाउन नसक्नु ।
च) दक्ष शिक्षक उत्पादन गर्न नसक्नु र क्षमतावान शिक्षकहरुलाई पहिचान गरी प्रयोगमा ल्याउन नसक्नु ।
छ) शिक्षक नियुक्ती तथा दरबन्दी मिलान गर्दा राम्रो भन्दा हाम्रो नीतिको असर ।
झ) विद्यालय व्यवस्थापन समिती र विद्यालय प्रशासन व्यक्तिगत स्वार्थ, अस्वस्थ्य राजनिती प्रतिस्पर्धा दवाव र प्रभावको असर ।
झ) विद्यार्थीको मनोविज्ञान, चाहाना, शिक्षा संगसंगै अन्य गतिविधिमा जोड्न नसक्नु सामाजिक व्यवहारिक ज्ञान प्रदान गर्ननसक्नु र पुस्ता हस्तान्तरण तथा नैतिक शिक्षाको कमि ।

सम्रगमा यी देखिएका कमिकमजोरी सच्याउने र सुधार्ने हो भने पक्कै पनि यस वडाको शैक्षिक क्षेत्र गुणस्तरको शिक्षाको् साथसाथै दक्ष तथा क्षमतावान् जनशक्ति उत्पादन गर्न पछि पर्ने छैनौँ भन्ने मलाई लागेको छ । त्यसैले राजनिती आस्था विचार आआफ्नै ठाउँमा छ शिक्षा जस्तो सम्वेदनशिल क्षेत्रमा कुनै दल, नागरिक, सरोकारवाला, शिक्षक, अभिभावक र विद्यार्थीबर्ग समेतले कुनै किसिमको राजनैतिक गतिविधि नगरौं, कुनै स्वार्थ नराखौँ र कसैलाई राख्न समेत नदिऔँ अनि विद्यार्थीको भविष्यमाथि कोहि कसैले खेलवाड नगरौँ ।

५) सेवाको प्राथमिकतामा वृद्ध, अपाङ्गता अनि सुत्केरी महिला

वृद्धवृद्धा जेष्ठ नागरिक हाम्रा अभिभावक हो । उहाँहरु जिउँदो इतिहास पनि हो उहाँहरु हामी सधै श्रद्धा र सम्मन गर्ने गर्दछौ ।
उहाँहरुलाई कार्यालयबाट दिने सेवाप्रवाहका सन्दर्भमा पहिलो प्राथमिकताको पङ्तीमा राखेर सेवा प्रदान गरिरहेका छौ । भत्ता निकासा, भत्ता नविकरण, राष्ट्रिय परिचयपत्र लगाएतका विभिन्न सुचना जानकारीहरु हाम्रा वडा सदस्य ज्युहरुले सम्भव भएसम्म टोलटोल घरघरमा गएर जानकारी गराएका छौ । जेष्ठ नागरिकहरुलाई सहारा स्वरुप टेक्नेलट्ठी सहयोग, तिर्थस्थलहरुको भ्रमण र उत्साहजनक कार्यक्रमहरु गरेकाछौ । शारिरीक अपाङ्ग, वौद्धिक अपाङ्ग, एकल महिला, दलित बालबालिका लगायत लक्ष्यित वर्गभित्र पर्ने लक्षित समुहरुलाई क्षमता विकास र आयआर्जन वृद्धिविकास गर्न वजेट विनियोजित गरी सञ्जालले वैठक बसी कार्यहरु गरिरहेको छ ।

सुत्केरीहरुलाई गर्भवती भएको समयदेखी स्वास्थ्यको नम्स अनुसार आमा र बच्चाको स्वास्थ्यमा समस्या नहोस भनि चेकजाँच गर्ने गरेका छौे । महिला स्वास्थ्य स्वयम् सेविकाहरुले मासिक रुपमा वैठक राखी उहाँहरुको स्वास्थ्य अवस्था बुझ्ने र जनचेतनात्मक कार्यहरु गरिरहेका छौ र सुत्केरी भएपश्चात आमा र बच्चाको बारेमा जानकारी लिनुको साथ साथै विभिन्न किसिमका खोपहरुको जानकारी गराउन हाम्रो आधारभुत स्वास्थ्य कार्यलयको टोली सुत्केरी आमा भेटघाट गर्न घरघर पुग्नुहुन्छ । साथै खोप क्लिनिक, गाउँघर क्लिनिक, जेष्ठ नागरिक क्लिनिक, वृद्धाश्रममा रहेका वृद्धा वृद्धहरुको मासिक रुपमा स्वास्थ्य परीक्षण पनि गर्ने गरेका छौ ।

 ६) यसरी हुँदै चुनौती रहेको फोहोर व्यवस्थापन

यो एउटा महत्वपुर्ण र चुनौतिको विषय हो । यसलाई सहि र उचित तरिकाले व्यवस्थापन गर्न सकेनौ र जानेनौ भने हाललाई ठूलो विषय नबन्ला तर भविष्यमा निकै ठुलो समस्याको रुपमा देखापर्छ । फोहोर मैला उचित व्यवस्थापनको निम्ती हामी सदैव चिन्तीत छौ र योजनाहरु खोजी रहेकाछौं । वडाको हिसावले हामीले बजार सरसफाईको निम्ती ज्यालादारीमा २ जना कर्मचारी राखेका छौ । फोहोर जतासुकै नफ्याकोस् भनेर विभिन्न स्थानहरुमा डस्विनहरु राखेका छौ ।

जनचेतनात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेका छौ । कुहिने र नकुहिने फोहोर छुट्याउनको निम्ती डस्विन वितरण गर्ने तयारीमा छौ, ति निस्किएका फोहोरलाई व्यवस्थापनको निम्ती नगरपालिकाले  टेण्डर मार्फत व्यवस्थापनको जिम्मा लगाएको छ र ठेकेदारले प्रत्येक घरबाट निश्चित रकम लिईरहेको छ । यस्ता खाले गतिविधिले दिगो व्यवस्थापन नहुने भएकोले निशुल्क रुपमा नै फोहोर उठाई यसको उचित व्यवस्थापन गरी त्यहि फोहोरलाई मोहोर कसरी बनाउन सकिन्छ भनि ५ नं वडा कार्यालयले एजेण्डा स्वरुप कार्यपालिकामा पेश गरी आवश्यक छलफल अगाडी बढाएका छौ । यस प्रति सबैको गम्भिर ध्यानार्कषण समेत भै रहेको छ ।

७) योजना बनाउँदा हुन्छ समुदायको राय समावेश

वास्तवमा भन्ने होभने विभिन्न खालका योजना विकास निर्माणका कामहरु तयार गर्दा वडा समितीका साथीहरु, पार्टि प्रतिनिधिहरु, स्थानीय बुद्धिजिवीहरु, समाजसेवी, स्थानीय क्लव, टोल बस्तिस्तरका जनसमुदाय र आवश्यकताको आधारमा माग भै आएका निवेदन उपर बसि छलफल गरि योजना निर्माण गर्दा पारदर्शी र विवाद रहित हुनेछ । हामीले यहि अभ्यास निर्वाचित भई आएको पहिलो वर्ष नै प्रयोगमा ल्याएका थियौँ । नगरी नहुने वडाको स्रोत साधनले भ्याउने आवश्यकताको आधारमा प्राथमिकतामा राखी योजनाहरु दिन, वास्तवमा समस्याहरु के–के छन् भनि भेला जम्मा छलफल गदै टोल–टोल बस्तीबस्तीमा हाम्रो टोली पुगेका थियौँ तर हामीले सोचेका र चाहेका जस्तो नभई वडाको क्षमता भन्दा माथिका धेरै योजनाहरुको माग भै आयो ति हामीले पुरा गर्न सक्ने सम्भावनाहरु थिएनन् किन भने वडा संग निश्चित स्रोत साधनमात्र हुन्छ ।

नगरले दिएको वजेटको सिलिङ निकै कम थियो । अनि स्थानीय सरकार संचालन अन्र्तगत समावेश गर्नपर्ने शिर्षक विषय वस्तुहरु छुट्टै छन् नै त्यमाथी पनि यो वडा सदरमुकाम भएको हिसावले यहाँ बजार व्यवस्थापन सरसफाई गर्ने कर्माचारी सडक वत्ति, स्थानीय पर्व जात्राहरु लगाएत नसमेटी नहुने विषयहरु पनि धेरै छन् । तर्सथ समुदाय स्तरबाट प्राप्त राय अनुसार पुर्वाधार र विकास निर्माण सन्दर्भमा केही समेटेका छौ केहि समेटिने क्रममा छ । अन्य राय सल्लाह सुझाव भने हामी सिंगो वडा समितीका साथीहरुबाट प्रत्यक्ष भेटघाट फोन म्यासेज र बस्तीस्तरमा पुगी लिएका छौ भने कतिले वडा कार्यालयमा नै उपस्थित भै दिनु भएको छ र वडाले योजनाहरु निर्माण गर्दा यी सबै विषय बस्तुलाई एजेण्डाको रुपमा बैठकमा प्रस्तुत गदै छलफल गदै समुदाय स्तरबाट प्राप्त राय सल्लाह सुझावलाई समावेश गरी योजना तयार गरी अगाडी बढिरहेका छौ ।

८) वडा अध्यक्षको हैसियतले काम गरेको छु । र, त गर्व लाग्छ

समग्रमा भन्नुपर्दा आफुले गरेका सवै कामहरु मलाई गर्व नै लाग्छ । हामीले दिर्घकालीन सोच र दिगो विकास निश्चित स्रोत साधन, धेरै अवरोध तथा वाधाहरुको विचमा पनि काम गर्न सकेको छु । यहाँ खुट्टा तान्ने, लडाउन, गिराउन खोज्ने असफल गराउने खोज्ने, अगाडी बढ्न नदिने व्यक्ति र समुहको योजनाहरु असफल गर्दैै वडा बासीहरुको हक र हितको पक्षमा काम गर्न पाएका छौ । गरेको छु र सधै गरिरहने नै छु मेरो लागी गर्व भनौ या उपलब्धि यहि नै हो ।

९) जनताका चाहना पूरा गर्नु नै पहिलो कर्तव्य

जनताले चाहन त धेरै कुराहरु चाहान्छन् । जसमध्ये शिक्षा, स्वास्थ्य, समृद्धी, निश्पक्ष पारर्दर्शी दिगो विकास, मुख्य कुराहरु यिनै हुन् । सर्वप्रथम सु–शासन चाहान्छन् । दिगो विकास निर्माण र स्वास्थ्य साथै भष्ट्रचार रहित सरकार होस् भन्ने चाहान्छन् ।
ति चाहानाहरुलाई हामीले सुनवाई मनन् गदै हामी अगाडी बढि रहेका छौ । कतिपय कुराहरु हाम्रो क्षमता र स्रोत साधनबाट पहुँच नपुग्ने विकास निर्माण लगायत योजनाहरुलाई हामी भन्दा माथिल्लो सम्बन्धित निमायहरुमा माग गर्नुको साथै पहल गरिरहेका छौ ।

१०) वडा बन्दैछ । र,त जनता खुशी छन्

आधारहरु त प्रशस्तै छन् । तर पनि अरुले तपाई भन्नु कता–कता आफै मपाई म भन्दिन तर पनि हामीले हाम्रो काम, हाम्रो कार्यालयबाट प्रदान गरेका सेवा सुविधाको विषयमा सोध्दा, बुझ्दा र उहाँहरुले हामीलाई भनि रहँदा उहाँहरु खुसी र सन्तुष्ट नै भएका हामीले पाएका छौ । साँझ, विहान, रात कहिल्यै भन्दैनौ आज सार्वजनिक विदा छ बन्द छ तपाईहरुको काम हुदैन कहिले भनेका छैनौ । हामी अाँगनको सरकार हौँ । हामी सधै उहाँहरुको साथ र सहयोगमा हुनुपर्छ । उहाँहरुले खोजेको समयमा उपलब्ध हुन्छु र उहाँहरुको कुराको सुनुवाई गर्छु । घमण्ड गर्दिन यतिको युुवालाई प्रतिनिधि बनाउन पाए हामी खुसी हुन्छौ भन्दै जनताले दिनु भएको अमुल्य मतबाट निर्वाचित भएर आएको छु । त्यसैले जनताको आशा र विश्वासलाई म कहिल्यै वेवास्ता गर्ने छैन । म जनताकै मार्गदर्शन अनुसार अगाडी बढेको छु । मेरो उहाँहरुसंग प्रतिवद्धता पनि छ । म भोटको राजनिती गर्ने व्यक्ति होइन । म ५ नं वडाको अध्यक्ष हुँ । सवैको साझा व्यक्ति हुँ कुनै दलको होइन । यस वडाभित्र रहनुहुने बुबा, आमा, दाजुभाई लगायत सम्पुर्ण वडावासी जनाताहरु यसकुरामा खुसी र सुखी छन् भन्ने मेरो बुझाई हो ।

११) यसरी हुन्छ पालिका प्रमुखसंग समन्वय

नगरपालिका, गाउँपालिका हामी स्थानीय सरकार हौं । त्यस स्थानीय सरकारको मातहतमा भएका वडाको हामी वडा प्रमुख हौं । पक्कै पनि वडाहरुको अभिभावक भनेको नगर प्रमुख हो । हामीले उहाँहरुलाई अभिभावकको रुपमा हेरेका छौं । कतिपय विषय वस्तु माथी व्यक्तिगत रुपले र सिंगो सरकारको हिसावले हामी नगर कार्यपालिकामा बैठक बसी छलफल बहस गछांै । समन्वयको हिसावले व्यक्तिगत रुपमा नगर प्रमुखज्यु संंग मेरो सम्बन्ध सारै राम्रो छ र उहाँले पनि मलाई राम्रै मान्नु हुन्छ भन्ने मलाई लाग्छ धेरै विषयमा उहाँ र मेरो छलफल समन्वय हुन्छ । गरेका पनि छौ । तर वडागत काम गर्ने हिसावले धेरै समन्वय हुदैन ।

पालिकाबाट भएको, हुन लागेको हामीले यहाँ यो आवश्यकता छ यसो गरौन भन्नेकुराहरु सुनवाई तथा समन्वय हुदैन त्यसैले कहिले दुःख त कहिले खुसी, उहाँ हाम्रो अभिभावक हो, नगर प्रमुख हुनुहुन्छ । नगर प्रमुखले नगरभित्र भएका १४ वटा वडालाई हेर्ने दृष्टिकोण विचारमा फरक हुनु हुदैन । कसैलाई लाखा कसैलाई पाखा गर्दा राम्रो हुदैन वडाको विकास भए समृद्ध वडा भए समृद्ध नगर हुन्छ । समृद्ध नगर भए त्यसको जस नगर प्रमुख लगायत हामी सवै वडा अध्यक्ष र जनप्रतिनिधि साथीहरुले पाउँछौ । तर विडम्वना त्यसो हुन पनि सकेन र गर्न पनि सकिएन ।

त्यसैले वडा नं ५ को हकमा यस्तो छ सायद अन्य धेरै वडा अध्यक्ष साथीहरुसंग पनि यस्तै छ होला मैले सुनेबुझे अनुसार समन्वय र छलफल भएको धेरै विषय बस्तुहरु उहाँलाई कार्यन्वयन गर्न पनि सजिलो छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2025 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित