काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन्। पूर्वसञ्चारमन्त्री समेत रहेका निलम्बित सांसद बस्नेत आइतबारअदालतमा उपस्थित भएका छन्।
उनीमाथि नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिदमा भ्रष्टाचार गरेको आरोप लागेको छ । उनी आफैँ निवेदन दिएर उपस्थित भएका हुन् । सिन्धुपाल्चोक प्रतिनिधि सभा २ बाट चुनाव जितेका बस्नेतको बयान न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भइरहेको छ।
उनको बयान सकेसँगै थुनछेक बहस सुरू हुनेछ। बहस सकिएपछि उनलाई पुर्पक्षको लागि थुनामा राख्ने वा धरौटीमा छाड्ने वा जमानतमा राख्ने आदेश इजलासले दिनेछ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बस्नेतविरूद्ध जेठ १ गते मुद्दा दायर गरेको थियो।
उनीसहित १६ जनाको संलग्नता रहेको भन्दै जनही तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो मागदाबी लिएको थियो।
टेरामक्स खरिद प्रक्रिया सुरू हुँदा बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्री थिए।