यस्तो छ शिक्षा तथा खेलकुदबाट समृद्ध नगर निर्माणका लागि चाैताराको नीति

यस्तो छ शिक्षा तथा खेलकुदबाट समृद्ध नगर निर्माणका लागि चाैताराको नीति

फरक पत्रिका

सोमबार, असार ९ २०८२

यस्तो छ शिक्षा तथा खेलकुदबाट समृद्ध नगर निर्माणका लागि चाैताराको नीति

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपप्रमुख सीता थापाले १८ आैं नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
सार्वजनिक कार्यक्रममा शिक्षा युवा तथा खेलकुदबाट समृद्ध नगर निर्माणका लागि लिइएको नीति यस्ताे छ ।
आधारभूत तहमा अनिवार्य तथा निःशुल्क र माध्यमिक तह (कक्षा १०) सम्मको निःशुल्क शिक्षालाई निरन्तरता दिइनेछ । विद्यालय नक्शाङ्कन गर्दै विभिन्न विषय र सङ्कायहरुलाई एकीकृत एवं खण्डीकृत गरी कक्षा १२ सम्मको शिक्षा क्रमशः निःशुल्क बनाउँदै लगिनेछ । नगर अन्तर्गतका सामुदायिक विद्यालयहरुमा सञ्चालित स्कूल बसलाई प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाइनेछ ।

शहिद स्मृति आवासिय बालग्रामलाई थप व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गरी अनाथ, आर्थिक रुपले अति विपन्न र आमा वा बाबु तथा आमा बाबु दुवै विहिन वा पढाईबाट बञ्चित हुने अवस्थाका बालबालिकाहरुलाई व्यवहारिक तथा जीवनोपयोगी शिक्षा प्रदान गर्ने बन्दोबस्त मिलाइनेछ । विद्यालयलाई नक्साङ्कन गरी सुपरिवेक्षण, विद्यालय समायोजन, केन्द्रिकरण तथा आवास सहितको विद्यालय निर्माण प्रकृयालाई थप व्यवस्थित र प्रभावकारी बनाइनेछ । नगरस्तरीय करार शिक्षक कर्मचारी छनौट परीक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाइनेछ ।

शिक्षक दरबन्दी मिलान कार्यक्रमलाई निरन्तरता दिइनेछ । दरबन्दी मिलान गर्दा समेत शिक्षक नपुग हुन गएमा शिक्षण अनुदान तथा स्वयंसेवक शिक्षक परिचालन गरी शिक्षक व्यवस्थापन कार्यलाई निरन्तरता दिइनेछ । पाँच वर्षमुनिका बालबालिकाको सर्वाङ्गीण विकासका लागि दुई बर्षे प्रारम्भिक बाल विकास शिक्षाको व्यवस्थालाई निरन्तरता दिइनेछ। स्रोत सामग्री स्वरूप पाठयपुस्तक व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइनेछ । बालविकास सहजकर्ताहरूको क्षमता अभिवृद्धि तथा स्तरीकरण (ग्रेडिङ) गरी कार्यसम्पादनमा आधारित प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

नैतिक तथा सिर्जनशिल शिक्षा आजको आवश्यकता अनुरुप बालबालिकामा सिक्दै पढ्दै, पढ्दै रम्दै, शारीरिक, मानसिक र संवेगात्मक, सिर्जनशीलता र बहुवौद्धिकताको विकास गरी श्रम प्रति सम्मान र पेशा प्रति लगनशीलताका साथै सदाचार, शिष्टाचार र अनुशासन विकास गर्न आवश्यक नीति लिइनेछ । हरित विद्यालयमा जलवायु परिवर्तनलाई मध्येनजर गरी वातावरण अनुकूल कार्य गर्नका लागि विद्यालयमा करेसाबारी तथा वृक्षारोपणको अवधारणा विकास गरिनेछ।

डिजिटल मैत्री सिकाइ नगरपालिका, सूचना प्रविधि प्रयोगशाला तथा आइसीटी सम्बन्धी कार्यक्रमको व्यवस्थापनलाई निरन्तरता तथा विस्तार गरिनेछ। साथै अनलाइन शिक्षा सुरुवात गर्ने नीति लिइनेछ । Integrationगरपालिकाको शिक्षा विकासका लागि नगर शिक्षा नीति र नगर शिक्षा योजना बनाई कार्यान्वयनमा ल्याइनेछ ।

विद्यार्थीसँग मेयर कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ । आन्तरिक एवम् निरन्तर मूल्याङ्कन प्रणालीलाई कार्यान्वयन गर्न आवश्यक मुल्याङ्कनका साधनहरुको विकास तथा स्वःमूल्याङ्कन र उपचारात्मक शिक्षण विधिका माध्यमबाट सिकाइ प्रक्रियामा सुधार गर्दै लगिनेछ । सामुदायिक विद्यालयमा विद्यार्थी मूल्यांकनका लागि सञ्चालन हुने आवधिक तथा वार्षिक परीक्षामा एकरुपता कायम गरी थप व्यवस्थित बनाइनेछ । संघीय तथा प्रादेशिक सरकारको समन्वयमा विद्यालय दिवा खाजा, विद्यालय नर्स कार्यक्रम, शिक्षण अनुदान, छात्राहरुलाई सेनिटरी प्याड वितरण लगायतका कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइनेछ । नगर भित्रका शिक्षालयमा अध्ययन गर्ने अपांगता भएका बाबुआमाका छोराछोरी, शहिद परिवार, दलित, सीमान्तकृत, गरीब तथा जेहेन्दार छात्र छात्राका लागि प्रोत्साहन छात्रवृत्तिको व्यवस्था गरिनेछ ।

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद, योग, ध्यान, गीत, सङ्गीत तथा कसरतलाई जीवन पद्धतिसँग गाँस्दै लगिनेछ । न्यून दृष्टियुक्त बालबालिकालाई निःशूल्क आँखा परीक्षण तथा चश्मा वितरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ । नगर स्तरीय विविध खेलकुद प्रतियोगिता आयोजना गरिनेछ । साथै अन्तर माध्यमिक विद्यालय नगरस्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितालाई निरन्तरता दिइनेछ ।

अपाङ्गतामैत्री खेलकुदको आयोजना गरिनेछ । स्थानीय पाठ्यक्रममा आधारित पाठ्यक्रमको पुनरावलोकन तथा पाठ्यपुस्तक निर्माण तथा छपाई गरी क्रमिक रुपमा नगर भित्रका विद्यालयहरुमा लागू गर्दै लगिनेछ। साथै मातृभाषामा शिक्षा प्रदान गर्नका लागि नीति अवलम्वन गरिनेछ । विद्यार्थीको सर्वाङ्गीण विकासको लागि खेलकुद तथा अतिरिक्त क्रियाकलापको सञ्चालन गर्न बालक्लब, स्काउट, जुनियर रेडक्रस जस्ता क्लबहरुसँग समन्वय गरी स्थानीय संस्कृति झल्कने कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।

शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षकलाई तालिम, अभिमुखीकरण, विषयगत नेटवर्क परिचालन, विषयगत बैठक तथा शिक्षकको पेसागत क्षमता अभिवृद्धि गर्न क्षमता विकास तालिमको व्यवस्था गरिनेछ । कार्य सम्पादनका आधारमा विद्यालय, शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन गरिनेछ । विद्यालयमा सुशासन कायम गर्न इ-हाजिरी, नियमित रिपोर्टिङ, सामाजिक परीक्षण, लेखा परीक्षण, सार्वजनिक सुनुवाई, अभिभावक भेलालाई नियमित गर्ने नीति अवलम्वन गरिनेछ । विद्यालयको अनुगमन तथा सुपरीवेक्षण गरी नगरपालिकाको विज्ञहरुको सुझाव सहितको समग्र शैक्षिक प्रतिवेदन तयार गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित