काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक बाढीको जोखिममा रहेको भन्दै होसियारीका लागि चेतावनी जारी गरेको छ ।
आजसहित तीन दिनसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै एल्लो वारेन्ट जारी गरिएको हो ।
बाढी महाशाखाले दिएको जानकारीअनुसार आज काठमाडौँसहित देशका ३७ जिल्ला र आसपासका क्षेत्रमा बाढीले जोखिम निम्त्याउने सम्भावना छ।
आज पाँचथर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, काठमाडौँ, गोरखा, तनहु, लमजुङ, कास्की, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, नवलपुरपश्चिम, अर्घाखाँची, पाल्पा, रुपन्देही, बाँके, दाङ, प्युठान, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने अधिकांश ससाना नदीहरूमा बहाब सामान्य बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ।
बाढी महाशाखाले १८ जिल्लालाई भने पहेँलो रङ अर्थात् एल्लो वारेन्ट दिएको छ। यो सूचीमा भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, गोरखा, तनहु, लमजुङ, कास्की, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, पाल्पा र रुपन्देही छन्।
जसअनुसार आजसमेत ३ दिन कोसी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान छ। तर बाढी घटबढ भइरहने तथा नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना देखिएकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता आवश्यक छ।