सिन्धुपाल्चोक । जिल्ला कारागार सिन्धुपाल्चोकमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य समस्या पहिचान गरिएको छ । एक कार्यक्रममा १ सय ५१ जना कैदीबन्दीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएसँगै उनीहरुको समस्या पहिचान भएको हो ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा कैदीबन्दीहरुको स्वास्थ्य जाँच गरिएको हो । कैदीबन्दीहरूको क्षयरोग, नसर्ने रोगहरूको स्क्रीनिङ, मुटुरोग, एचआइभी र उच्च रक्तचाप मापन गरिएको जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईंले जानकारी दिइन् ।
स्वास्थ्य परीक्षणले कैदीबन्दीहरूको स्वास्थ्य समस्या पहिचान भएको उनले बताइन् । उनकाअनुसार अब उनीहरूलाई रोग अनुसारको औषधि प्रयोग गर्न पनि सहज हुनेछ ।
कारागारमा रहेका कैदीबन्दीहरूमा क्षयरोग भए नभएको पत्ता लगाउन, स्वास्थ्य अवस्था जानकारी लिन, स्वास्थ्य सेवाको पहुँच बढाउन र कैदीबन्दीहरू बसेका स्थानबाट आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न परीक्षण गरिएको हो ।